काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताएका छन्। नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष भेलामा उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताएका हुन्।
“स्थानीय तहको निर्वाचनमा गठबन्धन फितलो हुनु, टिकटमा न्यायोचित वितरण नहुनु, आफूले टिकट नपाउँदा अन्तर्घात हुनेजस्ता प्रवृत्ति देखियो, स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर कांग्रेस पहिलो शक्ति बन्छ”, उनले भने। सहमहामन्त्री पाण्डेले पाँच दलीय गठबन्धनलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने बताए। स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर गठबन्धनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको उल्लेख गरे। पार्टीभित्र नीतिगत सुधारको खाँचो रहेको सहमहामन्त्री पाण्डेको भनाइ थियो । सहमहामन्त्री पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचन आवश्यक रहेको भन्दै पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताए।
FACEBOOK COMMENTS