काठमाण्डौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार दिउँसो भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको घोषणा गरेका छन् ।
भेरीगंगा नगरपालिकाको चिप्लेमा आयोजित समारोहमा उनले रिमोटबाट ब्रेक थ्रु गरेका हुन् ।
रिमोटको स्विच अन गरेपछि टनेल बोरिङ मेसिन (टीबीएम) निस्किन करिब २० मिनेट लागेको थियो ।
प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपटक टीबीएमबाट भएको सुरुङमार्गले भेरी बबईलाई नमुना आयोजनाको रूपमा अघि बढाउने बताए ।
चिनियाँ निर्माण कम्पनी कोभेकले १२ हजार २ सय मिटर लामो सुरुङमार्ग निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको हो ।
भेरीको पानी बबईमा मिसाएर बाँके तथा बर्दियाको ५१ हजार हेक्टर जमिन सिँचाइ गर्ने र ४६ दशमलव ८ मेगावाट विद्युत् निकाल्ने आयोजनाको लक्ष्य रहेको छ ।
FACEBOOK COMMENTS