काठमाडौँ । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल सुरु भएको छ । बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकोलगायतका विवादका कारण यसमाथिको छलफल प्रारम्भ हुन नसकेकोमा सहमति कायम गरी आजदेखि छलफल थालिएको हो ।
आजको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले यही असार १ गते सभासमक्ष प्रस्तुत गरिएको गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान सम्बन्धमा बोल्दै नीति कार्यक्रमलाई सम्बोधन हुने गरी बजेट वक्तव्य आएको बताए। समग्र गण्डकी प्रदेशको अवस्थालगायतलाई मध्यनजर राख्दै बजेट विनियोजन भएको उनले बताए।
छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य किरण गुरुङले लामो समयसम्म बजेटमाथिको छलफल बढ्न नसकेको भन्दै सरकारले संसद्लाई बन्धक बनाएको बताए । सरकारको आर्थिक स्रोत, केलाई प्राथमिकता दिने हो त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ थियो । जनताको आवश्यकता र प्राथमिकताभन्दा पनि अन्यत्र ध्यान दिइएको बताउँदै उनले रातो पुस्तकसँग बजेटको कुनै साइनो नदेखिएको उल्लेख गरे। नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका कार्यक्रमलाई बजेटमा नराखिएको उनले बताए ।
अर्का सदस्य विष्णुप्रसाद लामिछानेले सरकारले जनताका पक्षमा आउनका लागि मिहिनेत गरेको बताए । जनतालाई प्रत्यक्ष मारपर्ने विषय भएमा त्यसतर्फ गम्भीर बन्नुपर्ने बताउँदै उहाँले जनतालाई मर्कापर्ने विषय भए सच्याउनुपर्ने बताए।
अर्का सदस्य खिमविक्रम शाहीले कार्यक्रम तथा बजेटमा कुनै पनि विषय पर्नुभन्दा पनि त्यसको कार्यान्वयन कसरी बढ्छ त्यो महत्वपूर्ण हुने बताए । आवश्यकताका आधारमा नगरीनहुने ठाउँ प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो ।
मायानाथ अधिकारीले प्राथमिकतामा पर्नुपर्ने विषयलाई छोडेर आफ्नै ढङ्गले योजना बनाइएको बताए । सत्तारूढ दलमा नै भागबन्डा नमिलेर झगडा हुनु, संसद् नचल्नु जस्ता विषय गैरजिम्मेवारपन भएको उनले बताए ।
प्रदेशसभा सदस्यहरू विकास लम्साल र धनञ्जय दवाडीले नीति तथा कार्यक्रम र बजेटमा मेल नखाएको बताउँदै गण्डकी प्रदेश सरकारले सङ्घीयतालाई बदनाम गराउन खोजेको उल्लेख गरे । यो बजेटबाट प्रदेशको समृद्धि हासिल गर्न नसकिने उनीहरूको भनाइ छ । प्रदेशसभाको अर्को बैठक यही असार २१ गते बिहान ११ बजे बस्नेछ ।
FACEBOOK COMMENTS