‘मानव जीवन जसरी चलायो त्यसरी नै चल्छ ’ यो भनाइ मेगा बैंकका सञ्चालक, मेगा कलेजका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका ऊर्जा तथा वातावरण समूहका सभापति गोपाल खनालको हो ।
सफल ब्यवसायीका रुपमा स्थापित खनालले मेगा बैंक भन्दा पहिला एसिया पब्लिकेसनबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । २०६८ सालमा खुलेको मेगा कलेज र सोही सालबाट अप्रेसनमा आएको मेगा बैंकको संञ्चालकको रुपमा नेतृत्व हालसम्म खनालले गरिरहेका छन् । उनको नेतृत्वमा अहिले भक्तपुरमारहेको स्वस्तिक कलेज, मेगा स्कुल, सुपर मेलम्ची, लोयर मेलम्ची र अपर मेलम्ची हाइड्रो पावर पनि छ । सबै क्षेत्रमा सफलता हासिल गरेका खनाल धैर्यता र राम्रो कुशल व्यवस्थापनका कारण सफल भएको बताउँछन् ।
प्राथामिक सम्मको शक्षा जन्म स्थान खिन्दह– २ अर्घाखाँची जिल्लामा नै पठन पाठन गरेका खनालले त्यस माथिको शिक्षा भने काठमाडौँमै पुरा गरेका थिए ।
शिक्षाको विकासले नै देशको स्थायी विकास गर्ने खनालको बुझाइ छ । नेपालले ऊर्जाको सम्पूर्ण सम्भावनालाई उपयोग गरी आफ्नो देशको अलगै अस्तित्व निर्माण गर्न सक्नुपर्ने खनाल बताउँछन् । विभिन्न क्षेत्रमा नाम कमाएका संस्थाहरूको नेतृत्व गरेका खनालसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंशः
धेरै क्षेत्रमा नेतृत्व तहमा हुनुहुन्छ। सबैमा सफल हुनु भएको छ । कसरी सम्भव भयो ?
कलेज, बैंक, र पब्लिकेसन जस्ता सेवा मूलक नाफा सहितका व्यवसायमा संलग्न छु । सबै क्षेत्र समेटेर काम गर्नको लागि टिमवर्क महत्वपुर्ण कुरा हो । म नेतृत्वमा भए पनि, अग्रस्थानमा म देखिए पनि मलाई मेरो टिमले सपोर्ट गरेको छ । आफुले बनाएको टिमले कस्तो कार्य गरीरहेको छ । त्यसलाई बेलाबेलामा हेरेर सुझाव दिने, घचघच्याउने गरिरहेको छु । टिमको स्प्रीट र सहयोगले नै यो सबै सम्भव भएको हो । यो एउटा संस्थागत सफल व्यवसायको रुपमा लिन सकिन्छ ।
धेरै तर्फको जिम्मेवारी सम्हाल्दा टाउको दुखाई पनि हुन्छ होला नी ?
स्वाभाविक नै हो । म बिहान प्राय ५ बजे उठेर केही समय नियमति योगाभ्यास गर्ने गर्दछु , त्यसपछि अफिस हिँडेको मान्छे एकै पटक कहिले काहि राति ११ बजे घर पुग्ने अवस्था पनि आएको छ । दिनभरि टेन्सन नहुने कुरा त भएन । कुनै दिनमा आफू आरामले बसेको दिन मैले के गर्न पुगेन जस्तो अनुभव हुन्छ । यो शरीर जसरी राख्यो, यो मानव जीवन जसरी चलायो त्यसरी नै चल्दो रहेछ । आफूले आफ्नो समय र आफूलाई व्यवस्थापन गर्न सक्नु पर्छ । तर, घर परिवारलाई समय व्यवस्थापन गर्न नसक्दा गुनासो, समस्या, कति गर्ने, कहिलेसम्म गर्ने, के को लागि गर्ने, कति आवश्यक छ भन्ने खालका प्रश्नहरू आउँछन् । व्यवसायमा लागिसकेपछि घरपरिवारलाई समय दिन नसक्दा केही टाउको दुखाइका विषयहरू आईहाल्छ । समय, आफ्नो प्यासन र निर्णय गर्नसक्ने क्षमता भयो भने त्यो पनि कम हुन्छ भन्ने मेरो अनुभव हो ।
यहाँको सफलताको सूत्र के हो ?
पहिलो कुरा म सफल भएको आफैलाई भनेकै छैन । आर्थिक रूपले सफल भए होला । तर, म अझै काम गर्दै छु, अझै सिक्दै छु । हिजोको दिनलाई हेर्दा केही फरक भएको होला ।
तर, आफूभन्दा अगाडिका व्यक्तिहरूलाई हेर्छु र अझै मेरो रेस बाँकी छ झैँ लाग्छ । मेरा लक्ष्यहरू जुन दिन सफल हुन्छन् म त्यही दिन सफल हुन्छु । आफूले हिजोको दिन सम्झेर सन्तुष्ट हुनुपर्छ । तर, लक्ष्य लिदा आफू भन्दा अगाडिको मान्छे हेर्नु पर्छ । मैले अरूलाई पनि यही भन्ने गरेको छु ।
ब्यवसाय सफल बनाउन के गर्नुपर्छ ?
हामीले आफ्ना सन्तान प्रति भए जत्तिकै कर्तव्य निष्ठ भएर आफ्नो कामलाई माया ग¥यौँ भने, आफूले चलाएका ब्यवसायहरु चुस्त दुरुस्त रहन्छ । नेतृत्वलाई चलायमान बनाउन सधैँ घचघच्याइ राख्ने, आफ्नो उपस्थिति बनाइ राख्ने, आफुले निगरानी गरिराख्नु पर्दछ । जहिले पनि ईमान्दार कर्मचारीको मूल्याकंन र प्रोत्साहन गरिराखियो भने ब्यवसाय र व्यक्ति दुवै सफल हुन्छन् । आफ्नो संस्थाहरुमा सधै भावनात्मक सम्वन्ध वनाई राख्न जरुरी छ ।
उद्योग वाणिज्य संघको ऊर्जा तथा वातावरण समूहको सभापति पनि हुनुहुन्छ । नेपालमा ऊर्जाको सम्भावना र जलवायु परिवर्तनमा यसको भूमिका कस्तो रहला ?
नेपालमा जलविद्युतको सम्भावना एकदमै धेरै छ । नेपाल दक्षिण एसियामै विद्युत् उत्पादनमा अगाडि आएको देश हो । राज्यले जति गर्नु पथ्र्यो त्यति गरेन । हामी जलस्रोतका धनी भनेर विश्वमा कहलिएका छौँ । हाम्रो आयस्रोतको मुख्य स्रोत जल विद्युत् हुनसक्छ । तर अहिलेसम्म हामि संग निर्वाहमुखी विद्युत् मात्र छ ।
यहाँ २ हजार मेगावाट विद्युत् छ भन्छौँ । छिमेकी देश भारतको दिल्ली सहरका सडकमा लगाइएको बत्तीले मात्र १ हजार मेगावाट विद्युत् खपत गर्छ । हामीसँग भएको विद्युत् धेरै भयो, उत्पादन गर्न रोक्नु पर्छ । अब गर्नु हुँदैन भनेर आउने आवाजहरूका कारण हामी संकटमा छौँ । हामीले पर्याप्त विद्युत् उत्पादन गरेर बेचेको भए बाहिरबाट ग्यास किन्दा जाने डलर संचिति गर्न त सकिन्थ्यो नि ।
अहिले हामि विद्युत निर्यात गर्न तिर ध्यान नदिएर मानव निर्यात गर्ने देशको रूपमा अगाडी बढीरहेका छौं । जुन हाम्रो लागि यो घातक रूपमा प्रमाणितहुने देखिएको छ ।
वातावरण र जलवायुको कुरा गर्नु भएको छ । हामीले जति धेरै विद्युतीय उर्जामा प्रयोग गर्न सक्छौँ । यो दुवै क्षेत्रलाई त्यति फाइदा पुग्छ । हुन त जलवायु परिवर्तनमा हामी मात्र दोषी छैनौँ होला तर हामीले हाम्रो क्षेत्रबाट विद्युत्लाई पर्याप्त उत्पादन गर्न सकेको अवस्थामा पेट्रोल, डिजेल र ग्यासलाई विस्थापन गर्न सके मात्र वातावरण र जलवायुमा हाम्रो क्षेत्रबाट राम्रो योगदान गर्न सक्छौँ । हाम्रो वातावरण पनि व्यवस्थित र सन्तुलित हुन्छ ।
निजी क्षेत्रलाई विद्युत् उत्पादन गर्न किन समस्या ?
निजी क्षेत्रले विद्युत् उत्पादनका लागि गर्ने विभिन्न चरणका कामहरू मध्ये एउटा हो पीपीए । यो विद्युत् प्राधिकरणसँग गरिने सम्झौता हो । २०७५ सालदेखि पीपीए रोकिएको छ । यसले गर्दा नेपालका थुप्रो लगानीकर्ताहरू मारमा परेका छन् । पहिलो लाइसेन्स दिने र अन्तिममा पीपीए रोकिदिने गरेका कारण निजी क्षेत्रबाट विद्युतमा लगानी गर्ने व्यवसायहरू निकै मारमा परेका हुन् ।
सरकारले वर्षाको बेला विद्युत् बढी छ अहिले होल्ड गरौँ भनेर पीपीए हुन सकेको छैन । जसले गर्दा निजी क्षेत्रका लगानीकर्ताको अरबौँको लगानी जोखिममा परेको छ । हामीलाई उत्पादन गर्न दिएको भए, ऊर्जा प्रशस्त भएको भए, नेपालमै कम्पनी र ठुला उद्योगहरू खुलेको भए, रसिया र युक्रेनको सामान्य युद्धको मार नेपाललाई पर्ने थिएन । नेपालमा महँगी बढ्नु पर्ने आवश्यकता नै थिएन ।
भारतले नै विद्युत् किनी रहेको छ । हामीले भारतलाई पनि बेच्न सक्थ्यौँ । हाम्रो देशको विकासका लागि, देशलाई समुन्नत बनाउनका लागि ऊर्जा अहिलेको आवश्यक विषय हो । यसलाई होल्ड गरेर राख्नु राज्यलाई पनि घाटा छ । व्यवसायीलाई पनि घाटा छ । समग्र देश पछाडि धकेलिएको छ ।
मेगा बैंकको संचालक पनि हुनुहुन्छ। मेगा बैंकका बारेमा बताइदिनु न ?
मेगा बैंकको परिकल्पना २०६४ सालदेखिको हो । एक दुई जना साथीलाई हामी बैंक खोलौँ न भन्दा पत्याएनन् । ‘ए बंैक खोल्ने पो भइस्’ पनि भने । फाइनान्स कम्पनी खोलौँ भने । त्यसपछि केही अर्थशास्त्रीसँग बस्यौँ, केही लगानीकर्तासँग पनि भेटघाट भयो । त्यो भेटघाटले बैंक खोल्ने योजनामा पु¥यायो । करिब ४ वर्षपछि २०६८ सालमा हामी मेगा बैंक संचालनमा ल्याउन सफल भयौंैँ । त्यति बेला १२६८ संस्थापक शेयर धनी देशका ६३ जिल्लाबाट सहभागी गराएका थियौँ । १ करोड भन्दा बढी र १० लाख भन्दा कम लगानी नगर्ने वातावरण बनाए पछि यो बैंक स्थापना गर्न सफल भयौं । समूह राम्रो बनाउँदा, सामान्य व्यक्तिहरूले पनि सही तरिकाले काम गर्दा कुनै पनि संस्था स्थापीत हुने रहेछ भन्ने प्रमाणित एक हद सम्म गरायौं ।
अहिले मर्जरमा जाने सम्झौता पनि गर्नु भएको छ । किन ?
राष्ट्र बैंकका केही नीति नियम छन् । हामी राष्ट्र बैंकको मातहतमा चल्ने भएकाले नीति नियम मान्नु हाम्रो कर्तव्य हो । राष्ट्र बैंकको नीति नियम अनुसार हामी कोही न कोहीसँग मिल्नु पर्ने नै थियो । त्यसै क्रममा लामो समय बैंक क्षेत्रमा आफूलाई स्थापित गरेको नेपाल इन्भेस्टमेन्ट बैंकसँग कुरा भयो । उहाँहरू पनि हाम्रो छोटो समयको राम्रो प्रगतिका कारण सहमति हुनु भयो । राष्ट्र बैङ्कको नीति नियमलाई मनन् गर्दे हाम्रा लगानी कर्ताहरूको हित र कर्मचारीहरूको समेत सम्मानजनक उपस्थीतिका साथ हाम्रा भावनाहरू समेट्ने तरिकाले हामी मर्जरमा गएका हौँ ।
यहाँका र इन्भेस्टमेन्ट बैंकका ग्राहहरूको एउटा आग्रह बैंकको नाम लामो भयो । मेगा इन्भेस्टमेन्ट बैंक बनाउन मिल्दैन भन्ने छ ?
पहिलो कुरा नाममा सबैकुरा राखेको हुँदैन । हामीले नामसँग केही गुनासो गरेका छैनौँ । उहाँहरूसँग बैंक एकल चलाएको लामो अनुभव र हामीले पहिलेदेखि नै विभिन्न विकास बैंकसँग मर्जर गरेर आएको अनुभव छ । जुन दुवै पक्षको अनुभवलाई समेटेर अगाडि बढ्ने कोसिस गरिरहेका छौँ ।
हामी ग्राहकलाई दिने सुविधा, कर्मचारीलाई दिने सेवा, शेयर धनीलाई दिने फाइदालाई लिएर देशको उत्कृष्ट बैंक बन्ने दौडमा रहेकाले पनि नामको सम्वन्धमा मुख्य एजेण्डा बारे सोच्न नभ्याएको होला । यहाँले भनेजस्तै ग्राहकको आग्रह आयो, मर्जर भएपछिको बोर्ड र सेयर सदस्यहरूले महसुस गरे भने छोटो नाम जुर्न पनि सक्छ ।
मेगा कलेजको अध्यक्ष पनि हुनुहुन्छ । उच्च शिक्षा पढ्ने विद्यार्थीको अवस्था के छ ?
अहिलेको अवस्था पहिलेको जस्तो छैन । हाम्रो बेलामा त्यति क्लियर भिजन हुदैन थियो । अहिलेको विद्यार्थीमा त्यो क्लियर भिजन भएको पाइन्छ । हामी त जसरी हुन्छ एसएलसी (एसइई) दिएपछि क्याम्पस पढ्थ्याँै । अलि राम्रो बच्चाहरू त्रिचन्द्र पढ्थे, ठिकठिकका लागि मीनभवन र शंकरदेव थियो, सामान्यका लागि आरआर र सरस्वती क्याम्पस थिए । अहिले त्यस्तो छैन । अहिले यी बाहेकका पनि धेरै कलेजहरू छन् । विद्यार्थीहरूको पढाइको अवस्था पनि फेरिएको छ । अहिले एसईईमा सामेल हुने विद्यार्थिको सख्या ५ लाखको हाराहारीमा छ । हिजोको जस्तो नम्बरिङ, बोर्ड टपको अवस्था छैन । र उहाँहरूलाई सजिलो छ ।
कक्षा १२ सम्म माध्यमिक तह मान्ने भनेको छ । लागु भएको पाइँदैन नि ?
यो ह्याङ भन्छु मैले । किन भन्छु भने नर्सरीदेखि १२ सम्मलाई विद्यालय र त्यसमाथिको शिक्षालाई विश्वविद्यालयसँग जोडेका छौँ । त्यसमा विद्यालय पनि दुई तीन तह छन् । अहिले प्लस टुलाई पनि माध्यमिक तहमा पूर्णपुरमा लागु गर्न सकिरहेका छैनाँै ।
प्लस टुलाई सबैले पहिले जस्तै फोकस गरिरहेको देखिन्छ । यसका कारण विद्यार्थी व्यवस्थित भएको मैले देख्दिन । प्लस टुलाई पनि विद्यालयबाट नै पुरा गर्ने व्यवस्था भयो भने अझ प्रभावकारी हुन्छ भन्ने लाग्छ । विद्यालयको स्तर पनि बढ्छ भन्ने लाग्छ । १० पास गरेपछि प्लस टु खोज्ने बाध्यतालाई हटाउने की भन्ने लाग्छ ।
प्लस टु सकेर बाहिर जाने चलन पनि रोक्न जरुरी छ । बाहिर जानै पर्ने भए स्नातक सिध्याएपछि जाने बनाउनु पर्छ । विश्वविद्यालय नपढेसम्म नपठाउने वातावरण बनाउनु पर्छ । त्यो गर्दा दुई तीन कुरा व्यवस्थित हुन्छ । एक त नेपालबाट बाहिर जाने पैसा केही रोकिन्छ । त्यसपछि रेमिटेन्स पनि बढी आउँछ । विद्यार्थीको लागि पनि प्लस टु सकेर जानेले भन्दा स्नातक पढेर जानेले अझ बढी छात्रवृत्ति पनि पाउँछ । हाम्रो देशबाट जानेहरू शानले, मानले बसेपछि त हाम्रो लागि पनि फाइदा हो नि त ।
FACEBOOK COMMENTS