काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् ।
मंगलबार भएको दुई नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए ।प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो । दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले गठबन्धनको बारेमा जिज्ञासा राख्दा प्रचण्डले वर्तमान गठबन्धनमा रहन भट्टराई सुझाव दिएको स्रोतले जनाएको छ ।
जसपामा रहेपनि वा नयाँ पार्टी गठन गरेपनि वर्तमान गठबन्धनमा रहनुपर्ने अध्यक्ष प्रचण्डको आग्रह थियो । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा पनि जानकारी गराएका थिए ।
यस्तै दुई नेताबीचको भेटमा चुनावी गठबन्धन तथा समाजवादी केन्द्र गठन गर्ने विषयमा समेत छलफल भएको छ । समाजवादी केन्द्र गठन गर्ने प्रकृया चाँडै आगाडि बढाउने कुराकानी भएको हो । त्यसका लागि थप छलफलहरु गर्दै जाने दुईजनाको बीचमा सहमति भएको बताइएको छ ।
FACEBOOK COMMENTS