काठमाडौं । एक वर्षमा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् ।
उद्योग विभागकाअनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार ७६४ पुगेको पनि विभागले जनाएको छ ।
‘आ.व ०७८ र ७९ मा २९५ वटा विदेशी उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता स्वीकृत गराएका छन्,’ महानिर्देशक तिवारीले भने, ‘दर्ता भएका मध्ये ९१ वटा उद्योग ठूला, १०८ वटा उद्योग मझौला र ११० वटा उद्योग साना छन् ।’
अघिल्लो आ.व २०७७र७८ मा कुल २०३ उद्योग विभागमा दर्ता भएका थिए । जसमा ४२ वटा ठूला, ४९ वटा मझौला र ११२ वटा साना उद्योग थिए ।
कोभिड–१९ महामारीका कारण अवरुद्ध भएको लगानीको माहोल फर्किएको संकेत यस वर्षको तथ्यांकले देखाएको विभागकी सूचना अधिकारी पूर्णिमा उपाध्याय बताउँछिन् ।
‘आ.व ०७७ र ७८ को तुलनामा उद्योग दर्ता र लगानी प्रतिद्धता झण्डै दोब्बरले बढेको छ,’ निर्देशक उपाध्याय भन्छिन्, ‘मुलुकमा लगानी आकर्षित हुनुमा औद्योगिक वातावरणमा भएको सुधार पनि मुख्य कारण हो ।’
नेपालमा लगानी गर्न कोभिड-१९ महामारीको त्रास हटेको र लगानी भित्र्याउने मुलुकहरुमा पनि कोभिड समस्या हट्दा थप लगानीको माहोल बनेको उनको दाबी छ ।
वैदेशिक लगानी कुन क्षेत्रमा कति?
चालु आ.वमा सबै भन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा देखिएको विभागले जनाएको छ । कुल २९५ मध्ये पर्यटनमा १२६ वटा परियोजनाका लागि १९ अर्ब ५५ करोड लगानी प्रतिबद्धता भएको छ । दोस्रो धेरै विदेशी लगानी प्रतिबद्धता सेवा क्षेत्रमा छन् ।
गत आवमा यस क्षेत्रमा ९९ वटा उद्योगका लागि २३ अर्ब ८४ करोड लगानी प्रस्ताव गरिएको छ । उत्पादन क्षेत्रमा ५१ वटा परियोजनाका लागि ७ अर्ब ९१ करोड र र पूर्वाधार क्षेत्रमा क्षेत्रमा ८ वटा परियोजनाका १ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
यस्तै उर्जा क्षेत्रमा एक, सूचना प्रविधिमा ६ र कृषि तथा वनसँग सम्बन्धित ४ परियोजनमा लगानी प्रतिबद्धता आएको छ । यी उद्योगले १६ हजार ७४३ जनालाई रोजगारी प्रदान गर्ने विभागले जनाएको छ ।
FACEBOOK COMMENTS