नेपाल नाडा अटो एशोसिएनका अध्यक्ष शम्भु दाहालले १९९२ मा सिप्रदी ट्रेडिङबाट करियर शुरु गरेका हुन् । २४ वर्षको अवधिमा उनले सानो डिलरको रुपमा परिचित सिप्रदीलाई नेपाली बजारमा पहिलो कम्पनी बनाए । उनले राम्रो टिम बनाएर सिप्रदीलाई नं १ कम्पनी बनाए । ८ घण्टाको जागिर नसम्झी दिनरात काम गरेको सम्झन्छन् । उनी आफूमा व्यवस्थापकीय शक्ति योग तथा साधनाले दिएको बताउँछन् । कुनै कुरामा डटेर लाग्न योग अत्यावश्यक भएको उनको भनाई छ । उनी हाल सिप्रदी ट्रेडिङको निर्देशकको रुपमा कार्यरत छन्। उनी सिप्रदी मात्र होइन, अहिले पूर्वदेखि पश्चिमसम्म योग आश्रम बनाउन लागि परेका छन् । योगबाट मात्र सकरात्मक सोचको विकास हुने उनको बुझाई छ । उनी सफल हुनुमा योगको के सम्बन्ध छ ? सिप्रदी ट्रेडिङ वा टाटा मोटर्सलाई नेपालमा कसरी सफल बनाए ? नेपालको अटोबजार लगायतको विषयमा बसन्त अर्यालले गरेको कुराकानीको सम्पादित अंशः
भारतमा ३–४ नम्बरमा आउने टाटा मोटर्स नेपालमा एक नम्बरमै पर्छ । यसको सफलता पछाडि तपार्इंको भूमिका बढी छ भन्ने विश्वास गरिन्छ नि ?
नेपालमा टाटा मोर्टर्सको सफलताको पछाडि मेरो मात्र भूमिका छ भन्नु उपयुक्त हुँदैन । मैले धेरै मेहनत गरेको हो तर त्यो गर्न सिकाउने प्रभाकर समशेर राणा नै हो । उहाँले हामीलाई विजनेस इथिकल हुनुपर्छ भनेर सिकाउनु भयो । सबैलाई फाइदाजनक हुन्छ कि हुँदैन भन्ने कुरा हेर्न हामीलाई सिकाउनु भएको हो । राज्य, ग्राहक र व्यवसायी सबैलाई समान लाभ हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । त्यस्तै उहाँले हामीलाई गुडविलको बारेमा सिकाउनु भयो । त्यसैलाई मैले पालना गरेको हुँ । सिद्धार्थ जबराले हामीलाई व्यवसायिक फेमवर्क दिनुभयो । उहाँले जस्तो फ्रेमवर्क बनाउनु भएको थियो, त्यसमा बसेर काम ग¥यो । उहाँहरुको सोचको कारण सफल भएका हौं । उहाँहरुको सोचलाई हामीले दिनरात नभनी काममा खटियौं । हामीलाई परिणामसँग मतलब थियो । सबै कर्मचारीको चित्त बुझाएर काम ग¥र्यौं । सिप्रदीलाई सिस्टममा चलाएका थियौं । बाहिर हामी देखिन्थ्यौं तर पर्दामा उहाँहरु नै हुनुहुन्थो । कस्तो टिम बनाउने जिम्मा हामीलाई दिनुभयो । यसले हामीलाई काम गर्न सजिलो भयो । १९९६ मा एउटा सानो डिलरसिपमा रहेको सिप्रदी अहिले शसक्त कम्पनीको रुपमा स्थापित भएको छ । उहाँले हामीलाई विश्वास गर्नुभयो । हामीले निरास पारेनौं । नेपालमा अटो मोबाइल क्षेत्रलाई अगाडि बढाउने काम पनि उहाँहरुले नै गर्नुभएको हो । सिप्रदीको सफलता भनेको प्रभाकर समशेर र सिद्धार्थ समशेरको सोच र हाम्रो व्यवस्थापनको परिणाम हो । मेरो कारणले मात्र सफल भएको होइन, टिमवर्कमा काम भएको हो । त्यसमा मेरो जिम्मेवारी बढी थियो होला ।
तपाईंलाई धेरैले असल व्यवस्थापक वा व्यवसायी मात्र नभइ योग गुरुको रुपमा पनि चिन्छन् । खासमा योग र व्यवसायको सम्बन्ध के हुँदो रहेछ ?
शारिरीक र मानासिक अवस्था सन्तुलनको लागि योग गर्नैपर्छ । अहिलेको समयमा योग गर्ने मान्छेले सफलता चुम्न सजिलो हुन्छ । समाजमा राम्रा÷नराम्रा विचारहरु हुन्छन् । मान्छे नराम्रा विचारमा छिटो आकर्षित हुने गर्छन् । नकारात्मकतिर लागेको मान्छे छोटो अवधिको लागि सफलता हासिल गर्न त सक्छ तर दीगो सफलताको लागि सकरात्मक सोच नै चाहिन्छ । त्यो सकरात्मक सोच दिने भनेको योग र ध्यान हो । मैले जब ध्यान, योग गर्छु । विहान चार बजेदेखि नै म आफ्नो दैनिकीमा लाग्छु । बेलुकी १० बजेसम्म काम गरिरेको हुन्छु । मलाई काम गर्न ऊर्जा दिने योगले नै हो । जसले जति योग गर्छ, त्यसको मानसिक शक्ति त्यति नै बढ्छ । मानसिक शक्ति भनेको सत्वुद्धि आउनु हो । कुवुद्धिले मानिसलाई विगार्छ तर सद्वुद्धिले कहिल्यै बिगार्दैन । मेरो व्यवस्थापकीय क्षमता बढेको पनि योगको कारणले हो । यसले आत्मशक्ति पनि बढ्यो ।
यदि कसैले सही रुपमा व्यवसाय गरेर पैसा कमाउनु छ भने योगले सहयोग गर्छ । योगमा लागेको मान्छे विधिको शासन पालना गरेर अगाडि बढ्छ । चोरीको व्यवसाय गरेर पनि त्यही ठाउँमा पुग्ने हो । शुद्धतासँंग व्यवसाय गरेर पनि त्यही ठाउँमा पुग्ने हो । त्यसो भए मैले किन चोरीको व्यापार गर्ने ? नराम्रो काम किन गर्ने ? देशलाई हानी हुने काम किन गर्ने ? सबैलाई चित्त बुझाएर काम गर्न सक्यौं भने त झनै शक्तिशाली भइन्छ । त्यसैले मैले योग साधना गरेको हो । व्यवसाय कसरी गर्ने भन्ने हाम्रो अध्यक्षले सिकाउनु भन्नुभयो तर उहाँहरुको विचारलाई व्यवस्थापन गर्नु त मेरो जिम्मेवारी थियो । पाएको कामलाई कार्यन्वयन गर्ने ऊर्जा मेरो लागि योग हो । मेरो शक्तिको स्रोत योग हो । सबैलाई मिलाएर लैजान सक्नुमा पनि त्यही स्रोतले काम गरेको हो ।
योग सुरु चाहिँ कहिलेबाट गर्नुभएको हो ?
२०३४ सालमा म म्याराथनमा भाग लिन्थें । यो भनेको पनि आफूलाई शक्तिशाली बनाउनको लागि हो । अरु शक्तिशाली बदमासी गरेर हुन्छन् । तर मैले त्यो कुबुद्धि कहिल्यै पालिन । १९९५ सम्म आइपुग्दा धेरै असफलता हात परेपछि योगमा लागेको हुँ । त्यसपछि मैले चुरोट, रक्सी, मासु छाडें । यो किन छाडेको भने आफ्नो काममा गति दिनको लागि हो । प्रर्फमेन्सको लागि सब त्यागेको हुँ । मलाई आफ्नो उत्पादकत्व बढाउनु थियो । तपाईंले नेर्ततव लिनुहुन्छ भने पहिला आफूलाई सुधार्ने हो, अनि बल्ल म लिडर हुँ भनेर कुर्सीमा बस्नुप¥यो भने हरेक ठाउँमा सफल हुनुहुन्छ ।
अब अटोबजारकै कुरा गरौं । लामो समय अटो व्यवसायमा काम गर्नुभयो । नेपालको अटो बजार सानो छ । हामीले अटो बजार विस्तार गर्न किन सकेनौं ? तपाईंको विश्लेषण के छ ?
नेपालमा तथ्याङ्कमा रहेर हेर्ने हो भने त चारपांग्रे गाडी चढ्ने मानिस एक प्रतिशत पनि छैनन् होला । ८ प्रतिशत जति होला दुई पांग्रे चढ्ने । हामीले धेरै फड्को मार्न त सकेनौं, त्यसको पनि आफ्नै कारण छन् । त्यसमध्य हामीले मानिसलाई निरुत्साहित गर्छौं गाडी चढ्नको लागि । यो विलासिताको सामान भयो भनेर । तर, चार पांग्रे गाडीले उत्पादकत्व बढाउँछ, यो बुझाउन हामीले कहिल्यै सकेनौं । कुनै पनि देश गाडीको प्रयोग विना विकास भएको देख्नुभएको छ ? नजिकैको भारत, चीन हेर्नुहोस् वा टाढाको अमेरिका हेर्नुहोस्, कहाँ गाडीको प्रयोग गर्दैनन् ? गाडीले मानिसलाई काम गर्न उत्साहित गर्छ । मानिस उत्साहित भयो भने धेरै काम गर्छ । जसले उत्पादकत्वमा बढवा दिन्छ । मानिसलाई के कुराले काम गर्न मोटिभेट गर्छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ । हामीले बाहिरी कारण धेरै देख्छौं तर जसको आत्मामा केही गर्ने जाँगर चल्यो भने जस्तो सुकै चुनौति सामना गर्न पनि तयार हुन्छ । मान्छेलाई कहिल्यै हतोत्साहित गर्नुहुँदैन । मान्छेमा भित्रैदेखि हौसला र मोटिभेसन भयो भने विकास पनि फटाफट हुन्छ । सुविधा लिन पाउँदैनौ भन्यो भने मानिसले किन मन लगाएर काम गर्ने ? सबै मानिसले काम गर्ने भनेको सुविधाको लागि हो । सरकारले यो कुरा राम्रारी बुझ्न जरुरी छ । मानिसलाई गाडी चढ्न उत्साहित गर्दा उत्पादकत्व वढ्छ । मानिस दिन रात केको लागि काम गर्ने ? सुविधाभोग गर्नको लागि होइन । सरकारले विधि विधान मान तर सुविधा भोग गर्नुछ भने गर भन्नुपर्छ । यो कुरामा हामी चुकेका छौ । विलासिताको सामान भनेर मानिसलाई मेहेनत गर्न हतोत्साहित गराएका छौं । मान्छेको मनमा के छ त्यो हेर्नुपर्छ । बाहिरी कुरा हेरेर मात्र हाम्रोे विकास हुन सक्दैन ।
गाडी चढ्नको लागि त उसको आयस्रोतले भ्याउने हुनुपर्ला । हामी सबै आयत गर्छौं, त्यसैले महंगो भयो । नेपाल भन्दा कम जनसंख्या भएको देशमा गडीका प्लान्ट स्थापना भएका छन् । नेपालमा यस्तो वातावरण बनाउन किन सकेनौं ?
नेपालमा वातावरण बनाउन सरकारले सकेन वा नेपालमा प्लान्ट स्थापना गर्न व्यवसायीले चासो दिएनन् भनेर एकले अर्कोलाई दोष देखाएर समाधान हुन सक्दैन । व्यवसायी भनेका धन बनाउने कर्ता मात्र हुन् । उनीहरुलाई ‘वेल्थ’ बनाउन दिउँं । व्यवसायीको सम्मान विना देशको विकास हुनै सक्दैन । व्यवसायीलाई सम्मान गर्नैपर्छ । व्यवसायीका पनि कमजोरी छन् । सरकारले आँखा झिमिक्क पा¥यो कि व्यवसायीले छल्न खोजी हाल्छन् । त्यो पनि गतल भयो । जनताले पनि व्यवसायी गर्नेलाई सहयोग गर्नुपर्छ भन्ने भावना विकास नै भएको छैन । सरकार, व्यवसायी, जनता सबै चुकेका छौं । तर सबैलाई मार्गदर्शन गर्ने भनेको फेरि सरकार नै हो । भरत, चीन पूरै ‘वेल्थ क्रियट’ गर्न लागिपरेका छन् । हामी साना कुरामा अल्झिएर बसेका छौं । व्यवसायीलाई जति कमाउनु छ कमाउन दिउँ न । तर कर पारदर्शी रुपमा लगाउँ । हिसाव किताव पारदर्शी राख्न भनौं । यसले व्यवसायिक वातावरण बनाउँछ । होइन भने गाडी प्लान्टको लागि अर्बौं लगानी आवश्यक पर्छ त्यो रकम किन लगानी गर्ने ? सरकारले आकर्षण गर्न नसके कसले लगानी गर्ने यहाँ ? व्यवसायीले पैसा लगानी गर्ने भनेको सरकार र जनताकै पैसा हो । ३० प्रतिशतमात्र आफू खर्च गर्छ अरुत बैंकबाट ऋण लिएको हुन्छ । त्यो ऋण सरकार र जनताकै हो । कुनै व्यवसायीले विजनेस सेटअप ग¥यो भने त्यो व्यसायीको मात्र भन्ने बुझ्छौ । त्यो गलत हो । व्यवसायीले पैसा कमायो भने त्यो जनताको पनि जान्छ र सरकारकोमा पनि जान्छ । यो सन्देहको वातावरणबाट माथि त उठ्नै पर्छ ।
नेपालमा अहिले एसेम्वलिङको बहस चलिरहेको छ । कतिले कम्पनी दर्ता पनि गरिसके । एसेम्वलिङ प्लान्टको सम्भावना कस्तो छ नेपालमा ?
विश्वमा ८–१० ओटा मात्रै ब्राण्ड सफल भेहिकल मेनुफ्याक्चर कम्पनी रहेका छन् । ती कम्पनीले जबसम्म नेपालमा लागानी गर्छु भन्दैनन् तवसम्म सन्देहको स्थिति रहिरहन्छ । नयाँ कम्पनीले नेपालमा गाडी उत्पादन गर्छु भन्न सजिलो छ तर स्थापित हुन गाह्रो छ । किनभने अटोबजार मार्केट प्रतिस्पर्धात्मक बजार हो । जसले गाडी किन्छ, क्वालिटी हेर्छ । विश्वमा ठूला कम्पनी मर्ज भइरहेको बेला नेपालमा नयाँ ब्राण्डले गर्न सक्छन् जस्तो लाग्दैन । विश्वमा स्थापित भएका कम्पनीले नेपालमा उनीहरुकै जस्तो वातावरण पाए भने त स्थापित हुन सक्छन् नि ।
नेपालमा जहिले अटो बजारको कुरा हुँदा राजस्वको कुरा उठ्छ । व्यवसायी जहिले सरकारसँँग गनगन गरिरहनुपर्छ । यसलाई वैज्ञानिक बनाउन सकिँदैन ?
यसमा मेरो एउटै मात्र भनाई छ । ‘इज इट फेयर ?’ व्यवसायीले त तिर्ने होइन । ग्राहकले नै तिर्ने हन् जति राजस्व लगाएपनि । सरकारले लगाएको ठिक बेठिक भन्ने पक्षमा छैन । तर ग्राहकको तर्फबाट सोच्दा अहिलेको २४० प्रतिशतसम्मको राजस्व ठीक छ त ?
विश्वमा अहिले विद्युतीय गाडिको चर्चा छ । नेपाल सरकारले पनि विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिएको छ । तर निजी क्षेत्र अझै उत्साहित देखिँदैन नि ?
छिमेकी देश चीन र भारतमा विद्युतीय गाडीको प्रयोग बढेसँगै नेपालमा पनि बढ्छ । यसमा चिन्ता गर्नुपर्ने स्थिति नै छैन । नेपालमा अहिले आवश्यक भनेको चार्जिङ स्टेसन हो । त्यो ठूलो कुरो होइन । तर, अहिले मूल्य धेरै छ । जनताको पहुँचमा पुग्न सक्ने भयो नेपाली मार्केटमा यसको हिस्सा बढिहाल्छ । तर जहिलेसम्म पेट्रोलियम पदार्थको मूल्य महंगो ब्याट्रिको मूल्य सस्तो पर्दैन । तबसम्म विद्युतीय गाडीलाई बजार विस्तार गर्न गाह्रो छ ।
FACEBOOK COMMENTS