काठमाडौँ । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम सातादेखि भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ ।
भरतपुरको पुल्चोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । भरतपुर महानगरलाई सुन्दर सहर बनाउन यो कार्य थप सहयोगी हुने विश्वास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेदेखि विद्युतीकरणअन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको हो ।
भूमिगत विद्युतीकरण गर्दा विभिन्न निकायबीच समन्वय आवश्यक पर्दछ । निरन्तर समन्वय र बैठक आयोजना गरिरहेको महानगरकी प्रमुख दाहालले सबै निकायबीचमा समन्वय गराएर काम थाल्न लागिएको जानकारी दिइन् । यो परियोजना नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हेर्दै आएको छ ।
दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । परियोजनाका इञ्जिनीयर बिनोद सापकोटाका अनुसार अमेरिकी डलरमा बोलपत्र भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु दुई अर्ब ५० करोड हाराहारी हुन आउँछ । यो रकम भरतपुर र पोखरामा आधाआधा खर्च हुनेछ ।
सापकोटाको भनाइमा महानगरको अगुवाइका कारण राजधानी बाहिर पहिलो पटक भरतपुरमा काम थाल्ने अवस्थामा पुगेको छ । अन्य ठाउँमा भन्दा यहाँ छिटो काम हुन लागेको हो । उनले भने, “विभिन्न निकायसँग समन्वय गरेर कामअघि बढाउन महानगरले अगुवाइ गरेका कारण काम छिटो सुरु गर्ने अवस्थामा हामी पुगेका छौँ ।”
भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकदेखि केन्द्रिय बस टर्मिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिनेछ । सम्झौतामा काम गर्दा खनिएका सडकमर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए।
सन् २०२२ जनवरीदेखि लागू हुनेगरि निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरी सम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रूपमा पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । यससँगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुने छ । यी सडक हुँदै अन्य क्षेत्रमा तार जाने भएकाले यो जिल्लाभरका लागि उपयोगी परियोजना बन्नेछ । भरतपुरको सुन्दरतालाई पनि सहयोगी हुनेछ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीले विद्युत्का कारण भोगेका समस्या धेरै कम हुने र भरतपुर सुन्दर बन्ने बताए ।
यो परियोजनामा हुने खर्चले सिङ्गो जिल्लामा विद्युतीकरण गर्न सकिने भए पनि यहाँको महत्वलाई प्राथमिकतामा राखेर ठूलो खर्च गरी महत्वपूर्ण परियोजना अघि सारिएको उनले बताए । नेपाल टेलिकमसँग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाइ छ । यससँगै निजी क्षेत्रका तारसमेत भूमिगत गर्न सकिने गरी आयोजनाले काम गर्न लागेको छ ।
FACEBOOK COMMENTS