काठमाडौँ । दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।
लामो समय एकै दलमा सहकार्य गरेका र हाल एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहनगर रौतहट पुगेर अध्यक्ष ओलीले यस्तो दाबी गरे ।
सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने र सिट बाँडफाँडका लागि कार्यदल नै बनाएर अघि बढेपछि ओली गठबन्धनप्रति आक्रामक बनेका छन् । मंसिर ४ को निर्वाचनमा अध्यक्ष नेपाल उम्मेदवार बन्ने चर्चा चलिरहेको रौतहट पुगेर उनले नेपालको मात्र नभएर गठबन्धनको चर्को आलोचना गरेर आफ्नो दलले बहुमत ल्याउने दाबी गरे ।
यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । देशलाई निकास दिने भनेको एमाले नै हो, ‘उनले भनेका थिए,’ ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ’ । तर, ओलीले भने जस्तो उनको दलले बहुमत ल्याउने सम्भावनालाई भने गठबन्धनले धक्का दिने देखिएको छ ।
१६५ निर्वाचन क्षेत्रमा गठबन्धनले तालमेल मिलाएको खण्डमा गत प्रतिनिधि सभा निर्वाचनमा ठूलो बनेको दल यसपटक कमजोर हुने देखिएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामहरुले पनि त्यसलाई नै देखाइरहेको छ ।
तर एमाले अध्यक्ष ओली गठबन्धन भए पनि आफूहरूलाई पराजित गर्न नसक्ने जसरी प्रस्तुत भइरहेका छन् । कार्यकर्तामा उत्साह भर्न समकालीन नेतामा उनी अग्रस्थानमा आउँछन् । तर गठबन्धन भएको खण्डमा त्यसलाई परास्त गर्न उनको दलले चुनाव जित्ने जसलाई पनि उम्मेदवार बनाउने रणनीति बनाएको देखिएको छ ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंसिर ४ गते हुने निर्वाचनमा जित्ने उम्मेदवार पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् । चारै तिरबाट एमालेलाई घेराबन्दीमा पारिएको भन्दै घेराबन्दी तोड्न पार्टीभित्र एक हुनुपर्ने उनको भनाइ छ ।
त्यसोत चुनाव आउँन साढे तीन महिना भन्दा लामो समय छ । यसबीचमा देशको राजनीति कता जान्छ भन्न सकिने अवस्था छैन । कुन दलको कुन दलसँग तालमेल हुन्छ र कसेले कहाँ जित्छ भन्ने फैसला जनताको हातमा भएकाले यसै भन्न हतार हुने भए पनि पछिल्लो अवस्था एमालेलाई सहज भने देखिएको छैन ।
मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलसँग तालमेल गर्दा त्यसको प्रत्यक्ष असर एमालेमाथि पर्ने छ । आगामी निर्वाचनसम्म उक्त गठबन्धनलाई भत्काउन खोज्नु एमालेको पहिलो अस्त्र हुने निश्चित प्राय: छ ।
एमालेले तराईमा सिट संख्या बढाउने गरि लोसपा र अन्य क्षेत्रीय दलसँग गठबन्धन गरेर सत्ता गठबन्धनलाई चुनौती दिन प्रयास गरिरहेको छ । तर त्यसको सम्भावना पनि लगभग सकिएको एमाले नेताहरुले बताएका छन् । लोसपासँग नेपाली कांग्रेसले कुराकानी गरिरहेको छ र छलफल सकारात्मक भएको देखिएको छ । यसअघि स्थानीय तहको चुनावमा एमालेले राप्रपा नेपालसँग तालमेल गरेको थियो । तर कमल थापाको दलको मत खासै देखिएको छैन । राप्रपाबाट विभाजित भएर बनेको राप्रपा नेपालसँग तालमेल गरेपछि राप्रपा एमालेसँग रिसाएको छ ।
यसअघिको संघीय निर्वाचनमा ओलीले राप्रपाका हालका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर कांग्रसलाई पराजित गरेको थियो । त्यसैले राप्रपासँग तालमेल हुन सक्ने बालकोट निकटका एक नेताले बताए । तर यसमा एमाले ढुक्क छैन ।
कसैको साथ नपाउने भएपछि एक्लिएको एमाले अहिले गठबन्धनसँग एक्लै लड्न आफूहरु तयार रहेको र ब्रुस्लीु स्टाइलले जित्ने बताइरहेको छ । अध्यक्ष ओलीले फिल्ममा ब्रुस्लीले पहिला कुटाइ खाए पनि पछि खेलमा फर्किएको जस्तो एमाले पनि चुनावी मैदानमा फर्कने दाबी गरिरहेका छन् ।
सोमबार ओलीले उक्त कार्यक्रममा भनेका थिए, ‘ब्रुस्ली’सँग कहिले, कहिले मोटा/मोटा, अग्ला/अग्लाहरूले खेलेको देख्नुभएको छ ? त्यो रिङमा खेलेको देख्नुभएको होला नि ब्रुस्लीसँग ? ब्रुस्लीलाई हान्छन्, यता हान्छन्, उता हान्छन् । कहिले पछार्छन् । कहिले के गर्छन् । रगतपक्ष पार्छन् । ठ्याक्क चाहिएका बेला ब्रुस्लीले थपक्क उठाउँछ, फनन्न घुमाउँछ । उत्तानो पारेर पछार्छ र ढ्यापढ्याप पार्न लगाउँछ अम्पायरलाई । हामीले पनि चाहिएका बेला उत्तानो पारेर पछारेर निर्वाचन आयोगलाई भन्ने हो, ल तीन पटक ढ्यापढ्याप पार’।
ओलीले भनेजस्तो एमाले ‘ब्रुस्ली बन्न सक्छ कि सक्दैन त्यो भने चुनावी नतिजाले नै देखाउने छ ।
FACEBOOK COMMENTS