काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन्।
पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उनले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए ।
उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए । उनले भने, “मुलुकको अहिलेको अवस्थामा नयाँनयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन ।”
बैठकमा उनले कार्यकर्तामा आवश्यक गुण बारे स्पष्ट पार्दै प्रशिक्षण दिएका थिए । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रित गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उनले भने, “फाइदा–बेफाइदामा केन्द्रित हुने कार्यकर्तामा जुझारुपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरूले पार्टीभित्र होस् या समाजमा सङ्घर्ष गर्छन् ।”
वर्गीय तथा पेशागत सङ्गठनका इन्चार्जको उपस्थिति रहेको बैठकमा बिजुक्छेंले आत्म समीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिए । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ/छैन गतिविधिबाट थाहा हुुन्छ , आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्याङ्कन गर्नु आवश्यक छ”, उनले भने ।
FACEBOOK COMMENTS