काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने छन् ।
यस्तै सचिव फुँयालले नै प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधन सहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ ।
यस्तै राष्ट्रियसभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाइएका ‘शपथ सम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायोजन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।
बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
FACEBOOK COMMENTS