काठमाडौँ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो।
सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराएका हुन्। योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार सम्हालेका छन्।
माओवादी केन्द्रबाट योजनामन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य छन् भने कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य थिए।
नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो। यसअघि माओवादी केन्द्रबाट योजनामन्त्रीमा विन्दमान विष्ट र ऊर्जामन्त्रीमा गणेशप्रसाद सिंह थिए। उनीहरूलाई पार्टीले फिर्ता बोलाएपछि आइतबार राजीनामा दिएका थिए। शाह र कामीलाई मन्त्रीमा नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकार समावेशी बनेको छ। मन्त्रिपरिषद्मा महिला र दलितको पनि सहभागिता छ।
यसअघि अदालतको निर्देशनलाई लत्याउँदै मन्त्रीको शपथ गराएपछि सरकार असमावेशी भयो भन्दै चर्को आलोचना हुँदै आएको थियो।
कर्णालीमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गरी तिनदलका गठबन्धनको सरकार छ।
आठ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री, माओवादी केन्द्रका तीन मन्त्री र एकीकृत समाजवादीका दुई मन्त्री छन्। अब कर्णाली प्रदेश सरकारमा हालसम्म मन्त्री हुनेको संख्या २० पुगेको छ। कर्णाली प्रदेश सभामा ४० सदस्यीय छ।
FACEBOOK COMMENTS