काठमाडौँ — असारभित्र सक्नुपर्ने नौबिसे–नागढुंगा सडक मर्मतको काम अझैसम्म नसकिँदा दसैं तिहारमा राजधानी भित्रिने र बाहिरिने यात्रुलाई सास्ती हुने भएको छ । चाडपर्वका बेला यातायात सहज बनाइने दाबी गरे पनि मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डीलगायत सडकको अवस्थाका कारण यात्रुलाई उस्तै सास्ती हुने भएको हो ।
दसैंतिहार नजिकिँदा पृथ्वीराजमार्गमा सवारी चाप बढेको छ। खाल्टाखुल्टी, सवारीसाधनको चापलगायतका कारण राजमार्गमा जामको समस्या झन् बढ्न थालेको छ।
नौबिसे–नागढुंगा खण्डको १५ किलोमिटर सडक मर्मतको जिम्मा पाएको चितवनस्थित जीअएमआर कन्स्ट्रक्सनले अहिलेसम्म काम पूरा गरेको छैन। ‘दसैंलगायत पर्वलाई असहज नहुने गरी ठेकेदारलाई परिचालन गर्दै छौं,’ चितवनस्थित सडक डिभिजन प्रमुख कृष्ण अधिकारीले भने।
नौबिसे–नागढुंगा खण्डमा हुने सवारी जाम व्यवस्थापन गर्न खानीखोलास्थित प्रहरीलाई हम्मे पर्ने गरेको छ। राजधानीबाट सडक मार्ग हुँदै पोखरा र चितवनलगायत अन्य जिल्लामा जाने भीभीआईपीको सवारी व्यवस्थापन गर्न झनै हम्मे पर्छ।
सडकमा सवारी जाम गराउने सबैभन्दा बढी अत्यधिक भार बोकेका ठूला र लामा ढुवानीका साधन हुन्। व्यापारिक सामग्री बोकेर आउने १२ देखि २२ चक्के मल्टिएक्सल कन्टेनर र लरीहरू खानीखोलाबाट उकालो लाग्दा सवारी जाम हुने गरेको छ। ‘यी ढुवानी साधन त बिग्रन पनि पर्दैन, मोडहरूमा लम्बाइ नपुग्ने भएपछि त्यत्तिकै जाम हुन्छ,’ जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले भने। दसैं अवधिमा राजधानीमा बढी बिक्री हुने मोटरसाइकल, गाडीका टायर, सिमेन्ट, मार्बल र फलामे छड बोकेर आउने अत्यधिक भार बोकेका लरीहरूलाई रोक्ने निर्देशन छैन। पृथ्वीराजमार्गको अधिकतम भार १५ टन भए पनि ४२ टनसम्म बोकेका साधन हरेक दिन राजधानी भित्रिने गरेका छन्।
दुईवटा ढुवानीका साधन बराबरको भार बोकेर आएका साधनलाई २ हजार मात्रै जरिवाना तिरेर ल्याउन पाउने प्रावधान संशोधन हुनुपर्ने प्रहरी प्रमुख वैदवार बताउँछन्। मापदण्डविपरीतका मालवाहक साधनलाई वीरगन्ज र भैरहवा भन्सारबाटै रोक लगाउनुपर्ने उनले बताए।
भन्सारमा जरिवाना नतिरेरै आएका ढुवानी साधनले धार्केमा रहेको धर्मकाँटामा मापदण्डअनुरूपकै भार देखाएर कानुन मिच्ने गरेको पाइएको छ। ट्राफिकलाई मापदण्डविपरीत भार बोकेको कसुरमा जरिवाना रसिद देखाएपछि जति टनका मालवाहक साधन पनि सडकमा सञ्चालन हुन्छन्। ‘बढी भएको सामान झिक्ने अधिकार आफूहरूलाई नभएको गजुरीस्थित जिल्ला ट्राफिक कार्यालय इन्चार्ज नेत्रप्रसाद भट्टले बताए।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पिपलामोड–नागढुंगासम्मको करिब १५ किमि खण्डमा अत्यधिक भारले खाल्डा पर्नुका साथै भास्सिएर कुलोझैं बनेपछि सडकमा झनै जाम पर्ने गरेको छ। भारतबाट पहिलो पटक आएका चालकलाई अनुभव नभएका कारण खाल्डामा बढी भार भएका ढुवानी साधन एक्सल भाँच्चिएर बीच सडकमै ठप्प हुने गरेका छन्।
FACEBOOK COMMENTS