काठमाडौं । ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा बाह्रै महीना पानी ल्याउन तत्काल असम्भव देखिएको छ ।
आयोजनाको माथिल्लो तटमा पहिरोको जोखिम कायमै रहेकाले थप लगानी र उचित प्रविधिको प्रयोग नहुँदासम्म मेलम्ची पानी बाह्रै महीना उपत्यकामा आउन नसक्ने देखिएको हो । सरकारको ठूलो लगानी, वर्षौं सम्मको मेहनत तथा पर्खाइका साथै दातृ निकायको समेत ऋणमा निर्मित मेलम्चीको पानी वर्षायाम शुरू भएसँगै आउन बन्द भएको छ ।
मनसुन सकिएपछि र २० मीटर पुरिएको अम्बाथानको हेडवर्क्स खनिसकेपछि मात्रै काठमाडौंमा पानी आउने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मनसुन रहेसम्म मेलम्चीको पानी काठमाडौंमा आउने छैन । यो क्रम वर्षौं दोहोरिरहने सरोकारवाला विज्ञहरू बताउँछन् ।
२०७८ असारको बाढीले आयोजनास्थल प्रभावित त छ नै त्यसभन्दा माथिल्लो तट भ्रेमाथाङमा गेग्रान थुप्रिएकाले पुनस् भीषण पहिरो आउन सक्ने जोखिम कायमै रहेको एशियाली विकास बैंक (एडीबी)को हालैको प्रतिवेदनले देखाएको छ । केही साताअघि एडीबीले समितिलाई प्रतिवेदन बुझाएको छ । एडीबीले हेडवर्क्सभन्दा २२ किलोमीटरमाथि पेम्दाङ र मेलम्ची खोलाको अध्ययन गरेको हो ।
हेडवर्क्समा भएको क्षतिको मूल्यांकन र जलग्रहण (च्याटमेन्ट)को जोखिमका विषयमा गरिएको अध्ययनले अझै पनि पहिरोको जोखिम देखाएको हो । त्यसमध्ये पेम्दाङतर्फ ग्लेसियर (सानो हिमनदी) फुटेको छ । मेलम्चीमा अत्यधिक लेदो बग्दा क्षति भएको हो । भ्रेमाथाङमा २ किलोमीटर लामो र ७०० मीटर चौडा फैलिएर गेग्रानको ग्राउन्ड नै बनेको देखिएको छ । यो गेग्रानको परिमाण करीब साढे २ करोडदेखि ३ करोड घनमीटरसम्म रहेको प्रतिवेदनले देखाएको छ ।
समितिका सिनियर डिभिजनल इन्जिनीयर तथा पहिरोको अवलोकन र विश्लेषणमा रहेका पदमबहादुर कुँवरले थुप्रिएको गेग्रान अझै पनि बगेर आउने सम्भावना रहेको बताए । ‘भ्रेमाथाङ अहिले फुटबल ग्राउन्ड जस्तो बनेको छ,’ कुँवरले भने, ‘उक्त सामग्री बग्ने अवस्था छ, मेलम्ची र पेम्दाङ खोलाबाट गतवर्षजस्तै लेदोको फोर्ससहितको बाढी आएमा यो थुप्रिएको ग्रेगान बग्नेछ ।’ एडीबीले गरेको अध्ययन उल्लेख गर्दै उनले भने, ‘१२ महीना नै पानी ल्याउन अहिलेको हेडवर्क्सको विकल्प खोज्नुपर्छ, यसका लागि एडीबीले थप अध्ययन गर्दै छ ।’
उक्त प्रतिवेदन जनवरी २०२३ सम्ममा तयार हुने देखिएको छ । अहिलेको हेडवर्क्समा १ अर्ब रुपैयाँ लगानी भइसकेको छ भने यो वर्षायाम शुरू हुँदा पुरिन्छ । सुरुङभित्रका संरचनामा खासै समस्या छैन । वर्षभर मेलम्ची पानी ल्याउन हेडवर्क्सको डिजाइन (एडीबीले कन्सेप्ट डिजाइन दिने) गरिने र यसबाट हेडवर्क्सको ठाउँ ठीक छैन भनेर स्थान सार्ने, दोस्रोमा पुनर्निर्माण गरेर वा रेट्रोफिटिङ गरेर अहिलेकै चलाउने वा अहिलेकै माथि नयाँ संरचना बनाउने भन्ने विकल्प रहेको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS