काठमाडौँ । दीपावलीमा माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित छन् । विशेष गरी तिहारलाई नै लक्षित गरी बनाइएको माटोको सामग्रीले राम्रो बजार लिएकामा उनीहरू हर्षित भएका हुन् ।
रोहिणी गाउँपालिका–३ धकधईका ६५ वर्षीय कोइल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गरेका थिए । दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरू बिक्री गरिसकेको उनले सुनाए ।
दीपावलीबाट नै वर्ष भरी पुग्ने खर्चको जोहो गर्नु पर्ने उनलाई बाध्यता छ । उनले पाला बिक्री गरेर नै चार गोन जति धान र रु २० हजार जति पैसा कमाएको बताए । उनले अब उमेर गइसकेका कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताए । “१४–१५ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन सुरु गरेको हुँ”, कोहारले भने, “यसको बजार पहिलेभन्दा अहिले राम्रो छ ।”
रोहिणी–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्की लगायतका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा, पोखरासम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन् ।
कोइल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहार अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेको बताउँछन् । “बनाउन मात्र धौ धौ हो, बजारलाई समस्या छैन”, साधेले भने । छेउछाउमा काँचो माटोको पाला राखेका साधेले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाए । “तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ”, उनले आफ्नो चिन्ता सुनाए ।
बजार राम्रो रहे पनि अबका पुस्ता आफ्नो परम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ । माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ताले यो कलामा रुचि नदेखाएको कोइल बताउँछन् । “भाँडा बनाउन माटो नै पाइन्न, जर्ना दाउराको पनि उस्तै समस्या छ । लगानी नै बढी आउँछ, त्यसैले म नै सायद यसको अन्तिम कलाकार हो”, कोइलले गुनासो गरे ।
माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याले उत्तराधिकारीकै कारण यो कला गुमाउने अवस्थामा पुगेको छ । माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पालालगायतका सामग्री बनाउने यो समुदायका अधिकांश युवा पालाबाहेक अरु केही बनाउनै सक्दैनन् । आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ ।
कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोइल कोहार बताउँछन् । यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखे उनले जर्ना दाउराले लागत बढाएको सुनाए । “बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न”, कोहारले आफ्नो समस्या सुनाए। पन्ध्र वर्षको उमेरदेखि माटोसित खेल्दै आएका उनले स्थानीय तहको सहयोगको आश समेत गरे । “अहिले प्रधानहरु आएका छन्, हाम्रा लागि जर्नाको व्यवस्था गरिदिए केही हुन्थ्यो कि”, वृद्ध कोइलले भने ।
लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा बनाएका पनि केही कोहार समुदाय छन् । कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन् । अन्ठाउन्न वर्षीयय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्छन् । यो दीपावलीमा करिब ३० हजार पाला बेचेर चार गोन जति धान र रु २० देखि २५ हजार कमाउने उनको लक्ष्य छ । यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन् ।
उनीभन्दा अलि ठूलो कारोबारी राम किसुन कोहार छन् । उनले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाएका छन् । विशेष गरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उनी यसैबाट आफ्नो परिवार चलेको सुनाउँछन् ।
स्थानीय तहहरूले यस्ता परम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाइ छ । स्थानीय सरकारले यस्ता सीपमूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीयवासी महेश कोहारले बताए । “यस्ता मौलिक पेशालाई व्यवस्थित र सीपमूलक बनाउनेतिर राज्यको ध्यान गए आफ्नो पेशा पनि संरक्षित हुने र जीवन निर्वाहका लागि विदेशिनु पर्ने समस्या हट्ने छ”, महेशले भने ।
FACEBOOK COMMENTS