काठमाडौं । उद्योगी, व्यापारीले चर्को विरोध गरिरहेका बेला वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर नै १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले लागू गरेको कसिलो मौद्रिक नीति र बजारमा देखिएको तरलता अभावका कारण बैंकहरूको लागत बढेपछि कर्जाको ब्याज पनि महँगो भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत भदौमा बैंक कर्जाको औसत ब्याजदर १२ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । १ वर्षअघि यस्तो ब्याजदर ८ दशमलव ५७ प्रतिशत थियो । बैंकहरूको लागत बढेर आधारदर नै माथि पुगेपछि कर्जाको ब्याजदर बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको प्रतिवेदनमा चालू आर्थिक वर्ष ९आव० को भदौमा बैंकहरूको आधारदर नै १० दशमलव शून्य १ प्रतिशत पुगेको उल्लेख छ । १ वर्षअघि यो दर ६ दशमलव ८९ प्रतिशत थियो ।
तेस्रो त्रैमास सकिएपछि बैंकहरूले कर्जाको ब्याजदर अत्यधिक बढाएको भन्दै गत सातादेखि उद्योगी, व्यवसायीले सडक आन्दोलनसमेत शुरू गरिसकेका छन् । ब्याजदरको विषयलाई लिएर उद्योगी, व्यवसायी र बैंकबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
राष्ट्र बैंकका अनुसार भदौमा बैंकहरूको निक्षेपको औसत ब्याजदर पनि अघिल्लो वर्षको ४ दशमलव ९२ बाट ७ दशमलव ८१ प्रतिशत पुगेको छ । तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले बचतको ब्याजदर वृद्धि गरेपछि कर्जाको पनि बढेको हो ।
बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । यसले गर्दा आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । बैंकहरूले त्रैमासिक आधारदरका आधारमै कर्जाको ब्याजदर समायोजन गर्न पाउने व्यवस्था छ ।
ब्याजदर वृद्धि भए पनि बैंकहरूको निक्षेप तथा कर्जामा सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार भदौमा बैंक तथा वित्तीय संस्थाको निक्षेप शून्य दशमलव ९ प्रतिशतले घट्दा कर्जा प्रवाह शून्य दशमलव ५५ प्रतिशतले मात्र बढेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS