काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा विभिन्न प्रतिभाहरू रहेको बताएका छन् । गृहमन्त्रीले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्नो जिल्लामा पदक बाँडेको विपक्षीहरूको आरोप खण्डन गर्दै उनले रुपन्देहीमा योग्य भएकाहरूले पदक पाएको बताए ।
विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबहरूले भैरहवामा आयोजना गरेको पोलिया शान्ति र्यालीको समापन कार्यक्रममा मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको बताए । “रुपन्देहीमा एक्से एक प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उनले भने, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर सीमितलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरूलाई पनि समेट्नेछौँ ।”
रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्टलगायत क्लबमा आबद्ध युवाको सहभागिता महत्त्वपूर्ण रहेको उनले बताए । जिल्लामा विभिन्न सामाजिक काममा मात्र हैन विभिन्न विपद्का समयमा यस्ता क्लबहरूको सहयोग प्रशंसनीय रहेको उनले जिकिर गरे । पाँच दलीय गठबन्धनमा नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र लागू औषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गरे । उनले अहिले रुपन्देहीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसरहरू बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न आग्रह गए ।
गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गरे। उनले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागू औषधलगायत कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबहरूले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिए ।
अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।
रुपन्देहीमा क्रियाशील रोटरी क्लब र रोट्र्याक्ट क्लबहरुका विभिन्न शाखाहरुले यस दिन सचेतनामूलक कार्यक्रम गरी मनाउने गरेका छन् । विश्व पोलियो दिवसकै अवसर पारेर सोमबार भैरहवामा पोलियो शान्ति र्यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति ¥याली, नारायण पथ, बैंकरोड, नयाँसडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिए ।
FACEBOOK COMMENTS