काठमाडौँ । हिन्दुहरूको दोस्रो महान् पर्वको रूपमा रहेको तिहार यस वर्ष बिदाइ संगारमा हुँदासमेत पटाकाको आतङ्क अझै रोकिएको छैन । उज्यालोको पर्वको रूपमा रहेको यो उमङ्गको पर्व पनि हो ।
लक्ष्मीको पूजा, झिलिमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यसको एउटा अङ्ग पटाका र आतेशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्किने गर्छ ।
नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयले समेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला–ठूला आवाजमा पटका पड्किरहेका छन् । भारतमा खुला रूपमा पाइने र पड्काउनसमेत मिल्ने प्रावधान भएकोले सिमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ ।
सुरक्षा निकायलेसमेत तिहारलाई लक्षित गर्दै सीमाबाट पटाका भित्रिन नदिन कडाईका साथ चेकजाँच गरे पनि पटाकाको आतङ्क तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मी पूजाको सकिँदासमेत भइरहेको छ । सिमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ–गाउँ र उपत्यका सम्म पटकाको आतङ्क रहेको छ ।
भारतबाट भित्रयाएर गैर कानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री–वितरण भएर यो आतङ्क अझै पनि रोकिएको छैन । अधिकांस जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।
प्रशासनको बेवास्ताका कारण यस्ता गैर कानुनी क्रियाकलापले प्रसय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा रुपन्देही प्रहरीले कसैलाई कारबाही गरेको छैन । विगतका वर्षहरूमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरे पनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले यस वर्ष खासै पटाकाजन्य बस्तु नियन्त्रणमा नआएको बताए । ‘हामीले यस वर्ष कसैलाई कारबाही पनि गरेका छैनौँ, उनले भने ।
सीमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटाकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ ।
ठूला ठूला आवाजमा पटाका विस्फोट हुँदा समेत प्रशासन मौन रहेको स्थानीयहरूको भनाई छ । अरूलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभाबी रूपमा पड्काउदा बृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटाका जलाउँदा आँखा कानमा प्रत्यक्ष असर गर्ने भए पनि सावधानी नअपनाइ पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ । रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ ।
FACEBOOK COMMENTS