काठमाडौँ । तिहार पर्वका अवसरमा भाइटिकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बिचको बालगोपालेश्वर मन्दिरमा बिहीबार सामूहिक भाइटिका लगाइएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए ।
यसैबिच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटिका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई सामूहिक भाइटिका लगाइदिएकी छन् । उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटिका लगाइ दिइन् । अञ्जली दिदीले कुनै पनि दाजुभाइको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिइन् । अञ्जली दिदीले वि.स २०५५ देखि सामूहिक भाइटिका लगाउँदै आएकी छन् ।
FACEBOOK COMMENTS