काठमाडौं। विश्व सम्पदासूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ ।
लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयको आरोप छ ।
“महिलवार, पर्सा र मोगलहालगायतका मुख्य चोक र तेलारनदीमा फलिएका फोहर सडेर यो क्षेत्र दुर्गन्धित र कुरुप देखिएको छ”, स्थानीय व्यापारी बबिन बरइले भन्नुभयो, “पर्यटकीयस्थल सफा, सुन्दर र आर्कषक हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।”लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए । बजारभरिका फोहर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खाल उनको गुनासो छ ।
लुम्बिनी विकास कोषको मुख्य गेट ९गेट नं ५० महिलवार चोकस्थित सडकपेटी र टैक्सीस्टैण्ड वरपर फोहरको थुप्रो छ । बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागी लुम्बिनी पुग्नुभएका जापानी पर्यटक केंगो नोगुचीले नाक खुम्च्याउँदै भने , “फोहरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ ।”
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषसमेतले फोहर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखौँ रुपैयाँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको स्थानीयको गुनासो छ । फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ ।
“जथाभावी फालिने फोहरमैलाका कारण त्यसक्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेङ्गुलगायतरोगले समेत आक्रमण गर्नसक्ने खतरा छ”, लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले भने , “फोहर व्यवस्थापन नहुँदा लङ्कापुरस्थित तेलारनदीको छठघाटमा बर्सेनि हुँदै आएको पूजासमेत प्रभावित हुने खतरा छ ।”
लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफ, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घ संस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन् । स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ आफ लुम्बिनीलगायतका सङ्घसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहर व्यवस्थापनका लागि सक्रिय छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीले सरसफाइ र फोहर व्यवस्थापनका लागि यस आव २०७८÷०७९ मा रु ८० लाख बजेट विनियोजन गरेको छ । दसैँअघि बसेको नगरपालिकाको बोर्ड बैठकमा यहाँको सरसफाइ र फोहर व्यवस्थानबारे प्रस्ताव ल्याइए पनि सफल हुन नसकेको वडा नं ६ का वडाध्यक्ष नैमुल हक मुसलमानले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोपेन्द्रप्रसाद पाण्डेले भने, “फोहर व्यवस्थापनका लागि ल्याइएको प्रस्तावमा बोर्ड बैठकबाट सहमति हुन नसके पनि नगरपालिकाले तत्काल फोहरमैला व्यवस्थापन कार्य अघि बढाउने कार्ययोजना छ ।” प्रमुख प्रशासकीय अधिकृत पाण्डेले छठपछि जसरी पनि त्यहाँको फोहर हटाइने बताए।
FACEBOOK COMMENTS