काठमाडौँ । बाराको निजगढ नगरपालिका ८ स्थित अस्सी बिगाहमा रहेको तीन बिघा उखु खेतीमा भीषण आगलागी भएको छ ।
बुधवार दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । स्थानीय हिरा सारू मगरको १ बिघा र राम खत्रीको २ बिघा उखु खेतीमा आगो लागेको हो । आगोलागिबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारू मगरले जानकारी दिए ।
आज दिउँसो एक्कासि लागेको आगलागीबाट तीन बिघा जमिनमा लगाएको उखु पूर्ण रूपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौँ,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रूपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’
स्थानीयका अनुसार आगलागी भएको उखु खेतीमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्त्काल निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकल पठाएर आगो नियन्त्रणमा आएको बताए ।
आफूलाई खबर प्राप्त हुने बित्तिकै निजगढ नगरपालिकाको दमकल पठाएको तर एउटा दमकलले मात्र आगो नियन्त्रण नहुने भएपछि कोहल्वी नगरपालिकाको दमकल पठाएकै कारण बढी क्षति हुनबाट जोगिएको उनले बताए । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ नगरप्रमुख पुरुले भने, ‘आगो लागेको उखुबारी भित्रनै गएर दमकलले आगो नियन्त्रण लिन सफल भयो जसको कारण थप बढी क्षति हुन पाएन ।’
आगो स्थानीयवासी प्रहरीको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताए ।
आज एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा कसैले बस्तुका निम्ति घाँस पलाउनका लागी आगो लगाएको हुन सक्ने किसानले अनुमान गरिएको छ । उखुबारीसँगै रहेको एक प्लटिङ गरी बिक्रीका निम्ति खाली राखिएको जमिनमा घाँस पलाउने आशामा कसैले आगो लगाएको हुनसक्ने किसनको भनाई छ । आगो कसले लगायो यस विषयमा प्रहरी प्रशासनले खोजी गरि आवश्यक कारबाही गर्नुपर्दछ,’ किसनले भने ।
FACEBOOK COMMENTS