काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहीबार भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन्।
अन्नपूर्ण गाउँपालिका–५ घोप्टे खर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भएका हुन् ।
घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।
घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकको पनि उपस्थिति थियो ।
FACEBOOK COMMENTS