काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरूका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौँ भन्ने जस्ता झुट्टा आश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।
पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरू सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए । ‘पाँच दलीय गठबन्धन र यसका उम्मेदवारहरूले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने, ‘यहाँ त केही उम्मेदवारहरूले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाँट्दै हिँड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन् ? त्यसैले सबै मतदाताले उनीहरूलाई पहिचान गर्नुपर्छ ।’
गृहमन्त्री खाँणले गौतम बुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरू हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्त्वपूर्ण योजनाहरू देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे । ‘गौतम बुद्ध विमानस्थल बन्नुपर्छ भन्ने आवाज उठाउने नेपाली काँग्रेस हो, त्यसको माग हामीले गरेका थियौँ । तपाईँहरू भ्रम छर्ने उम्मेदवारहरूलाई प्रश्न गर्नुस्, विमानस्थल शिलान्यास हुँदा ती नेता कहाँ थिए, निर्माण हुने क्रममा विमानस्थलमा कति पटक पुगे, उद्घाटनमा सहभागी भए की भएनन् ?’, राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै खाँणले भने, ‘फोटाहरू र भिडियोहरू हेर्नुस्, ती नेताहरू कतै देखिन्छन् त ? कतै देखिँदैनन् । अनि विमानस्थल हामीले बनाएको भनेर भ्रम छर्दै हिँडेका छन् ।’
उनले विमानस्थल जस्तै रुपन्देहीका अन्य ठुला र महत्त्वपूर्ण योजना अगाडि बढाउँदा र सम्पन्न गर्ने क्रममा अहिले झुट्टा आश्वासन बाँडिरहेका नेताहरूको कहीँ कतै पनि उपस्थिति नरहेको जिकिर गरे । ‘त्यसैले तपाईँहरू ढुक्क हुनुस्, रुपन्देहीको विगतमा विकास गर्ने र ठुला योजना पार्ने हामी हो, अब पनि गठबन्धन र मैले योजना पार्छौँ, यहाँको विकास, समृद्धिमा योगदान दिन्छौँ, जनभावनाअनुसार काम गर्छौँ’, उनले भने ।
उनले पञ्चायत फाल्दा, राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरूले जे बोलेको, त्यो पूरा गरेको जनाए । ‘संविधानमा जनताका हक अधिकारको ग्यारेन्टी भयो, जीवनस्तर परिवर्तनका कुराहरू लेखिए’, खाँणले भने, ‘अब संविधानमा लेखिएका कुराहरू हामीले पूरा गर्छौँ, जनताको जीवनस्तरमा परिवर्तन ल्याउँछौँ ।’ खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरू र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने जनाए । ‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौँ, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने । यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए । ‘यो त एउटा उदाहरण मात्रै हो’, उनले भने, ‘यस्ता दर्जनौँ काम हामीले अघि बढाउने छौँ, जनतालाई विकास, आर्थिक समृद्धिसँग जोड्ने छौँ, रुपन्देहीलाई नेपालकै नमुना जिल्ला बनाउनेछौँ ।’
क्षेत्र नम्बर ३ (२) का उम्मेदवार रामचन्द्र ढकालले निर्वाचनका बेला भ्रम छर्नेहरू यस पटक पनि उम्मेदवार भएर फेरि हुने नहुने आश्वासन बाँडिरहेको बताउँदै यसतर्फ सचेत हुन आम मतदातासँग आग्रह गरे ।
FACEBOOK COMMENTS