काठमाडौं,कार्तिक ७ – ब्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पार्ने डुइङ बिजनेश रिपोर्टमा नेपालले उल्लेख्य सुधार गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपालले कारोबार गर्नका लागि पहिलेभन्दा सहज देशको रुपमा आफुलाई स्थापित गरेको हो ।
विश्व बैंक समूहले १९० देशको अर्थतन्त्रको मूल्यांकन गर्दै जारी गरेको ‘२०२०’ रिपोर्टमा गएको वर्ष ११० औँ स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ स्थानमा उक्लिएको छ । नेपालले १० सुचकाङ्क मध्ये ५ मा सुधार सुधार गरेको छ । ३ सुचकांकमा गिरावट आएको छ भने २ मा स्थीर रहेको छ ।
नेपालले कुनैपनि निर्माण अघिका प्रक्रियाहरुलाई सहज बनाएको, भवन निर्माण इजाजतका शुल्क घटाएको तथा अनलाइन मार्फत प्रक्रियाहरुलाई थप सुधार गरेको उल्लेख छ। यस्तै नेपालले कर्जा प्रणाली तथा त्यसबारे बृहद सूचना दिने संयन्त्र र पहुँच स्थापित गरेको पनि अध्ययनमा छ। नेपालले वीरगंजमा भारतसँग एकीकृत भन्सार चेक पोष्ट सुरु गरेर निर्यात आयातको ब्यापारकालागि समय र लागतलाई समेत न्यून गर्न सघाएको अध्ययनले देखाएको छ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियाको हकमा ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ । नेपालपछि श्रीलंका विश्व सूचीमा ९९ रहेको छ। दक्षिण एसियाको इन्डेक्समा सबैभन्दा पुछारमा रहेको अफगानिस्तान विश्व सूचीमा १ सय ७३ औं स्थानमा छ।
सर्वाधिक सुधार गर्ने विश्वका टप २० देशहरुमा भने नेपाल पर्न सकेन। सर्वाधिक सुधार गर्ने देशहरुमा चीन भारत, पाकिस्तान, साउदी अरब, जोर्डन, टोगो, बहराइन, ताजकिस्तान, कुवेत, नाइजेरियालगायत देश छन्।
डुइङ बिजनेशको शीर्ष स्थानमा भने क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ्, डेनमार्क र दक्षिण कोरिया रहेका छन्
FACEBOOK COMMENTS