काठमाडौं । उखु उत्पादन पछिल्लो ६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घटेको पाइएको छ ।
किसानले उधारोमा बेचेको उखुको भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले पछिल्ला वर्षमा उखु उत्पादन खस्किँदो क्रममा रहेको देखाउँछ ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा मुलुकमा ४३ लाख ४६ हजार ७५४ मेट्रिक टन उखु उत्पादन भएको थियो । आव २०७७/७८ मा आइपुग्दा उखु उत्पादन ३१ लाख ८३ हजार ९४३ मेट्रिक टनमा झरेको छ । आव २०७२/७३ को तुलनामा २०७७/७८ को उखु उत्पादन ११ लाख ६२ हजार मेट्रिक टन घटी हो ।
यस अवधिमा उखुखेती हुने जमीनको क्षेत्रफल पनि साढे १६ हजार हेक्टर घटेको छ । आव २०७२/७३ मा ८० हजार ९ सय हेक्टरमा उखुखेती रहेकोमा २०७७/७८ मा आइपुग्दा घटेर ६४ हजार ३ सय हेक्टरमा सीमित भएको छ ।
स्वदेशी माग धान्न विदेशबाट चिनी आयात भइरहेका बेला चिनीको कच्चा पदार्थ उखु उत्पादन घट्दै गएको पाइएको छ । चिनी उद्योगीले विभिन्न बहानामा किसानलाई समयमै भुक्तानी नदिएर दुःख दिन थालेपछि उखुखेती हुने क्षेत्रफलसँगै उत्पादन निरन्तर रूपमा ओरालो लाग्दै गएको तथ्यांकले पुष्टि गर्छ ।

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले नेपालमा उखु उत्पादनको ग्राफ निरन्तर ओरालो लाग्नुमा भुक्तानी समस्या र उत्पादन लागतअनुसार मूल्य नतोकिनु नै प्रमुख कारण भएको बताए । ‘आफ्नो मेहनत र परिश्रमको पैसा पाउन पनि उखु उत्पादक किसानले हरेक वर्ष माइतीघर धाउनुपर्ने अवस्था आएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

FACEBOOK COMMENTS