काठमाडौँ । अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिए ।
जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए ।
जिल्लामा क्षेत्र नम्बर १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए ।
यसै गरी क्षेत्र नम्बर २ मा ३९ हजार २६३ पुरुष, ४० हजार ३६३ महिला र अन्य १ गरी ७९ हजार ६२७ जना मतदाता रहेका थिए ।
जिल्लाभर ७७ हजार ३९० पुरुष, ८१ हजार २५६ महिला र अन्य २ गरी १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन् ।
कुनै मतदान केन्द्रमा ६०(६५ प्रतिशत तथा कुनैमा ५० प्रतिशतसम्म मतदान भएको निर्वाचन अधिकृत शर्माले बताए ।
अहिले कर्मचारी मतपेटिका सिल गरी मतदान अधिकृतको कार्यालयमा फर्किने क्रममा रहेका छन् ।
आफ्नो मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको र अब फर्किने क्रममा रहेको अछाम क्षेत्र नम्बर २ मा रहेको गंगा मावि मतदान केन्द्रका मतदान अधिकृत भीम बहादुर सिंहले जानकारी दिए ।
९२३ मतदाता संख्या रहेको उक्त केन्द्रमा ३ सय पाँच महिला, १ सय ९३ पुरुष गरी ४ सय ९८ मतदान भएको उनको भनाइ छ । जुन ५३.९५ प्रतिशत रहेको मतदान अधिकृत सिंहले बताए ।
FACEBOOK COMMENTS