काठमाडौं । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् । जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ ।
यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो । लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो।
गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेका थिए । गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ । त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपैयाँ मात्र लाभांश लगेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS