डा.लोचन कार्की नेपाल चिकित्सक संघका महासचिव हुन् । केही महिनामा हुन लागिरहेको निर्वाचनका लागि उनी अध्यक्षका प्रत्यासी समेत बनेका छन् । उनीसँग चिकित्सा क्षेत्रमा व्याप्त समस्या, यसका समाधानका उपाय र संघको निर्वाचनमा उनको आकांक्षाका विषयमा गरिएको कुराकानीः
नेपालमा सधैभरि गुनासो रहेको विषय डाक्टर गाउँमा जानै चाहँदैनन् । खासमा डाक्टर गाउँमा बस्ने वातावरण अझै नबनेको हो ?
राज्य तथा कुनै पनि राजनीतिक दलले स्वस्थ्यलाई केन्द्रविन्दुमा राखेर काम गरेको देखिँदैन । डाक्टर गाउँमा जान नचाहेको भनेर भ्रम फैलाइन्छ । तर स्वास्थ्य मन्त्रालयमा गएर हेर्ने हो भने किन डाक्टर गाउँमा हुँदैनन् भन्ने जवाफ पाइन्छ । डाक्टर दुर्गम भन्दा पनि अतिदुर्गममा जान चाहिरहेका छन् । अतिदुर्गममा जाँदा नम्बर धेरै पाइन्छ । त्यसैको आधारमा विशेषज्ञ पढ्न सहज हुन्छ । डाक्टर अतिदुर्गम जान नचाहेको भन्ने कुरा गलत हो । राज्यकै कहाँ गल्ति छ भने दुर्गममा दरबन्दी नै एकदमै कम छ । नेपाल भरिमा १४ सय जना डाक्टरको दरबन्दी छ । डेढ करोड जनसंख्या हुँदा पनि १४ सय जनाकै दरबन्दी थियो अहिले तीन करोड जनसंख्या पुग्न थाल्यो अहिले पनि त्यति नै दरबन्दी छ । नेपालमा ५ हजार भन्दा बढी डाक्टरहरुको दरबन्दी भए बल्ल दुर्गमका जनताले सहज सुविधा पाउँछन् ।
सरकारी कोटा भएन त्यो राज्यको कमजोरी होला तर प्राइभेट तवरबाट चिकित्सक गाउँमा जानै हुँदैन भन्ने त होइन होला नि ?
प्राइभेट चिकित्सकलाई कसैले दवाब दिन सक्दैन । कुनै चिकित्सकलाई गाउँद्दगाउँमा जान बाध्य हुँदैन । किनकी करोड तिरेर पढेको डाक्टर कहाँ जाने भन्ने उसको अधिकार हो । कुनै डाक्टरले गाउँलाई सेवा दिन्छु भनेर गयो भने पनि के त्यहाँ पूर्वाधार छ ? कुनै डाक्टर गाउँमा त्यत्तिकै गएर त हुँदैन । गाउँमा सुविधा दिने हस्पिटल पनि त हुनुप¥यो नि । तब न डाक्टर गएर उपचार गर्न सक्छ । गाउँमा एक्सरे मेसिन छैन, ल्याब टेस्ट गर्नुप¥यो, त्यसको सुविधा छैन । यस्ता स–साना पूर्वधार नभएसम्म कुनै एउटा डाक्टर गाउँमा गएर सेवा गर्छु भनेर के गर्छ ? पूर्वाधार पुर्याउने भनेको राज्यले नै हो । तब न गाउँमा निजी चिकित्सक गएर पनि काम गर्न सक्छ । यदि कुनै डाक्टर गाउँमा स्थापना भएको अस्पतालमा गइहाले पनि उसको परिवार हुन्छ । पढाउने राम्रो विद्यालय हुँदैन । सरकारले यस्ता कुराको पनि ख्याल गर्नुपर्छ, जसले गर्दा निजी चिकित्सक पनि गाउँमा गएर काम गर्ने वातावरण होस् । गाउँमा पहिला केन्द्रले औषधि पठाउँथ्यो तर अचेल पैसा पठाउँछ । स्थानिय तह आफैले खरिद गर्ने हो । स्थानिय तहले औषधीलाई प्राथमिकता दिन भन्दा डोजर वा बाटो बनाउन तर्फ लागे । त्यसैले अहिले गाउँमा डाक्टर त के औषधी समेत नपाइने भयो ।
देशका ठूलाबडा उपचारका लागि विदेश गइरहँदा सर्वसाधरणमाझ देशमा चिकित्सा सेवा राम्रो छैन भन्ने धारणा व्याप्त छ । यसलाई कसरी चिर्ने ?
नेपालमा निकै कम रोग बाहेक सबै उपचार सम्भव छ । नेपालको धेरै जनसंख्या उपचारको लागि विदेश गएका छैनन् । केही सिमित व्यक्ति विदेश गएका छन् तर ठूला पदमा बहाली भएका वा देशका ठूला भनेर चिनिने व्यवसायी विदेश उपचार गर्न जाँदा सर्वसाधरणलाई के भ्रम पर्ने गरेको छ भने नेपालमा राम्रो वा गुणस्तरीय उपचार हुँदैन । नेपालको जनसंख्याको एक प्रतिशत मानिस उपचारको लागि विदेश गएका होलान् बाँकी मानिस उपचार नपाएर मरेका त छैनन् नि ।
स्वदेशमा उपचार नभए विदेश जाने हो । यसको लागि विदेश उपचार गर्न जानेले मेडिकल बोर्डको सिफारिस लिने व्यवस्था गर्नुपर्छ । नेपालको ठूलो सरकारी हस्पिटलका भिआईपीका लागि बनाएका कोठा खाली भएर बसेका छन् । विदेश जाँदा भएको खर्च जोड्ने हो भने नेपालमै प्रविधि ल्याएर उपचार गराउन संभव हुन्छ । प्रविधी ल्याउने एक व्यक्तिको लागि होइन नि त सबैको लागि उपयोगी हुन्छ यता तर्फ सोच्नु जरुरी छ ।
नेपालमा भएका डाक्टरपनि बाहिर पढेर आएका छन् । जहाँ पढेपनि पढ्ने उही हो । नेपालमा केहि उपकरणको कमिकमजोरी होला त्यसको लागि माथि भने जस्तो बाहिर जानु सट्टा यहि किने त राम्रै हुन्थ्यो नि ।
अन्य पेशा भन्दा डाक्टर सम्मानित पेशा हो तर पछिल्लो समय डाक्टरहरुले सेवा भन्दा नाफा खोज्ने, उपचारमा हेलचक्राइँ गर्ने प्रवृत्ति बढेको गुनासो छ नि ?
नेपाली समाजले कुनैपनि पेशालाई पनि सम्मानित दृष्टिले हेर्न छाड्यो । समाजले सबैलाई शंकाको घेरामा राखेको छ । समाज नैराश्यतातिर गएको कारण डाक्टरहरु प्रति पनि विश्वास वा सम्मान घटेको हुनुपर्छ । कुनैपनि सरकारी कार्यालयमा गयो भने घुस माग्छ, अदालतमा पनि न्यायधिस घुस खायो भन्ने समाचार आइरहन्छ । नेताले ठुला भाषण गर्छन् तर त्यसलाई कार्यान्वन गर्न सक्दैनन् फलस्वरुप अहिले समाज यति नैराश्य भयो कि कसैप्रति विश्वास गर्ने वातवरण नै हरायो । राज्यको प्रणालीमा सर्वसाधरणले विश्वास नगरे पछि डाक्टरहरु प्रतिपनि विश्वास घटेको हुनुपर्छ । समाजमा ‘फ्रस्ट्रेसन’को मात्र बढ्दै गयो भने नकरात्मकता तिर धेरै सोच्न थाल्छन् र सबैलाई एउटै डालोमा हालेर हेर्छन् । यसले गर्दा डाक्टर र विरामी बीचपनि अविश्वास पैदा भएको छ । तर कुरा के हो भने मैले जहिले पनि भन्ने गरेको छु, एउटा ठेकेदारले पुल बनाउँदा सिमेन्टमा बालुवा मिसाउँदा उसलाई फाइदा हुन्छ । चामलमा ढुङ्गा मिसाउँदा चामल व्यापारीलाई फाइदा होला । तर एउटा डाक्टरलाई उसको प्यासेन्ट मर्दा के फाइदा हुन्छ ? एउटा डाक्टरले राम्रो उपचार ग¥यो भने अर्को पटक बिरामी हुँदा फेरि त्यही आउँछ । डाक्टरलाई हेलचक्राइँ गरेर केही फाइदा हुँदैन । उसप्रतिको विश्वास घट्ने हो । मिडियामा आउने कन्टेन्टले पनि समाजलाई नकारात्मक सोच्न बाध्य बनाएको छ । हस्पिटलमा कुनै बिरामीको मृत्यु भयो भने डाक्टरको हेलचक्राइँ वा हस्पिटलको हेलक्राइँको कारण भएको भन्ने समाचार आउँछ । खास कुरा के हो मिडियाले नलेखिदिँदा पनि विश्वास घटेको हो । सर्वसाधरणले त मिडियामा आएको कुरालाई सहजै विश्वास गर्छन् । अनि डाक्टरलाई गालि गर्न थाल्छन् ।
हेलचक्राइँले नै कसैको मृत्यु भएको हो कि होइन भन्ने त अनुसन्धान पछि मात्र थाहा हुन्छ । मिडियाले कुनै आधारबिना लेख्दिन्छन् । यस्तै कारणले डाक्टर र विरामी बीचको खाडल छ त्यसलाई विस्तारै पुर्दै लैजानु पर्छ ।
के त्यसो भए हस्पिटलमा कुनै विरामीको मृत्यु भयो भने ढुङ्गामुढा हुनुपनि त्यही अविश्वासको कारण हो त ?
हस्पिटलमा उपचार हुँदै गरेको विरामीका आफन्तसँग नियमित सम्पर्क नै हुन्छ । तर हुलदंगा गर्ने एउटा छुट्टै समूह नै छ । उसले आफन्तसँग सेटिङ मिलाएर हामी हुलदंगा गर्छाैं । हस्पिटलबाट आएको पैसा आधाआधा गर्ने सहमतिमा हुने गरेको छ । हस्पिटल तोडफोड गरेपछि त भिड हटाउनको लागि हस्पिटलले बाध्य भएर पैसा दिन्छ । हस्पिटलको वातावरण थप नविग्रियोस् भन्नको लागि यस्तो गर्छन् । हस्पिटलमा तोडफोड गर्न नपाउने कानुन भएपनि त्यसलाई कडाइ नगर्दा दुःख पाइरहेका छौं । कस्तोसम्म भएको छ भने कान्ति बाल अस्पतालमा एउटा बच्चाको मृत्यु भयो । हुलदंगा भयो हस्पिटलले १० लाख क्षतिपूर्ति दियो । त्यो हुलदंगा गर्ने समूहले बच्चाको परिवारलाई काजकिरिया गर्ने भनेर ४०–५० हजार दियो । अरु सबै आफैं खाए । नेपालमा बिरामीको मृत्युमाथि व्यवसाय गर्ने ग्याङ छन् । अहिले फोन गर्यो भने १५–२० वटा बाइक ल्याएर आउँछन् । नेपालमा ०६२÷०६३ पछि धेरैको मनस्थिती हल्ला गरेपछि जे पनि हुन्छ भन्ने बनेको छ । अब त्यस्ता खराब मनस्थितीलाई हतोत्साहित बनाउने बेला भएको छ । हरेक कुरा ‘सिस्टमेटिक’ हुन आवश्यक छ । त्यसैले हामी चिकित्सक संघबाट ‘जेल विथआउट बेल’ सहितको कानुन ल्याउन दवाव दिइरहेका छौं । भारत, अमेरिका जस्ता देशमा काम गरिरहेको ठाउँमा डाक्टरलाई हातपात ग¥यो भने बिना धरौटी कस्टडीमा लैजाने चलन छ । हाम्रोमा पनि त्यस्तै व्यवस्था हामी माग गरेका हौं ।
चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको चुनाव आउँदैछ । तपाईं अब कुन पदमा उम्मेदवारी दिनुहुन्छ ?
महासचिव भइसकेपछि स्वभाविक रुपमा अध्यक्षको दाबेदार हुँ ।
अरु प्रत्यासी पनि होलान् । तपाईंको दाबीका आधारहरु के–के हुन् ?
विततका तीन वर्ष मैले महासचिवका रुपमा गरेको कामको मूल्यांकन मेरो दाबीको आधार हुन्छ । मान्छेले बोल्नेभन्दा पनि उसको कामले बोलोस् भन्ने मान्यता म राख्छु । यो तीन वर्षको कार्यकालमा महासचिवका रुपमा मैले आफ्नो पदलाई कत्तिको न्याय गरें या गरिनँ भन्ने कुरा सायद मैले भन्दा पनि मेरो समकालीन, सहकर्मी, अग्रज तथा यसका सदस्यहरुले नजिकबाट हेरिरहनुभएको छ । उहाँहरु सबैले मुल्यांकन गरिरहनुभएको छ भन्ने लाग्छ । मेडिकल एसोसिएसन दुई वटा कुराले एकदम महत्वपूर्ण छ । एउटा त संगठन हो, अर्को कुरा सबैभन्दा ठूलो छाता संगठन हो । यसको नेतृत्वमा जानको लागि संगठनलाई राम्रोसँग चिनेको र बुझेको मान्छे हुनुपर्छ । मैले आफ्नो बारेमा कुरा गर्दा म केन्द्रीय सदस्य, सह–सचिव भएर महासचिवसम्म भइसक्दा मैले मेडिकल एसोसिएसनलाई राम्रोसँग चिनेको छु । अहिलेसम्म भएका यसका गतिविधिमा म प्रत्यक्ष संलग्न छु । कुन काम कहाँ पुगेको छ, कुन कामलाई पु¥याउन बाँकी छ भन्ने कुरा भोलि अर्को मान्छे आउँदा उसलाई बुझ्नैमा टाइम लाग्छ । कुन फाइल स्वास्थ्य मन्त्रालयमा, कुन कानुन मन्त्रालयमा, कुन अर्थ मन्त्रालयमा भन्ने कुरा बुझ्नमै नयाँ मान्छेलाई टाइम लाग्ला । मलाई भने भोलिदेखि नै त्यसलाई क्यारी ओभर गर्नलाई सजिलो छजस्तो लाग्छ । अर्को कुुरा यो संस्थाको भ्यालु पनि बुझ्नपर्छ, संस्थाको गरिमा पनि बुझ्न जरुरी छ । स्वास्थ्य नबुझेको कोही नयाँ मान्छे स्वास्थ्यमन्त्री भयो भन बुझ्नै एक वर्ष लाग्छ । भलै तिक्ष्ण भनिएका गगन थापा नै स्वास्थ्यमन्त्री भएर आउँदा उहाँलाई पनि २÷३ महिना टाइम लाग्यो । अध्यक्षमा नयाँ मान्छे आयो भने ३ वर्ष चाहिँ त्यो बुझ्दा बुझ्दै सक्कियो भने त उसले केहि प्रोडक्टीभ काम गर्नै सक्दैन् ।
विगत तीन वर्षमा के के काम गर्नुभयो त ?
तीन वर्ष थुप्रै कामहरु भए । मुलुकी ऐनका कुरा ग¥यौं, भ्याटबाट हटाउने कुरा ग¥यौं, आफ्नै भवनमा सर्ने काम पनि एक हिसाबले ठूलो उपलब्धि भयो । नयाँ जेनेरेसनलाई एकेडेमिक रिसर्चका थुप्रै कामहरु हामीले लिएर आएका छौं । प्रा.डा. गोविन्द केसीको अनसनको बेलामा कम्तिमा पनि उहाँहरुलाई मर्नबाट बचाउने काम ग¥यौं । हामी मैदानमा नआएको भए राज्यले त सिद्धाइसकेको थियो । हाम्रो लडाईंसँगै चिकित्सा शिक्षा आयोग आएको छ । यो तीन वर्षमा जति मेडिकल एसोसिएसनको चर्चा सुनियो, त्यति चर्चा अरु संस्थाको सुनिदैन् । मेडिकल एसोसिएसन छ है भन्ने कुरा चिनाउने काम गरियो । यी सबै काम गरेको हिसाबले र महासचिवपछि अब अध्यक्ष नै हो जस्तो लाग्छ ।
FACEBOOK COMMENTS