काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँ गाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेष्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् ।
गोरखा सदरमुकाममा शुक्रवार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवाद सभामा उनले झण्डै ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।
देश दुर्घटनातिर जाने हो कि भन्ने आशङ्का यति बेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । “राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो”, उनले भने, “देश भुमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”
उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।”
अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । “गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रूपमा लिएको छु”, उनले भने, मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।”
FACEBOOK COMMENTS