काठमाण्डौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नेपालको धर्म, संस्कृति र कला, कौशललाई संरक्षण गर्ने राज्यको दायित्व भएको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा समुद्घाटन समाराहोमा आज उनले राष्ट्रिय सम्पदालाई अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सबै निकाय लाग्नुपर्नेमा जोड दिए । कला, संस्कृतिको अध्ययन, अनुसन्धान र अन्वेषणमा कम खर्च रहेकाले अब बजेटको कम्तीमा पनि तीन प्रतिशत यस क्षेत्रको अध्ययन, अनुसन्धान र अन्वेषणमा खर्च गर्ने गरी व्यवस्था गर्न लागिएको सदस्य फुयाँलले जानकारी गराए ।
विगत वर्षमा कोरोना महामारीका कारण पनि यस क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै उनले सांस्कृतिक क्षेत्रको विकासमा ठूलो बजेट चाहिने आवश्यकता महसुस गरिदिन सरकार तयार रहेको बताए । स्रष्टाको अनुभव र ज्ञानलाई पूँजीकृत गर्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा पनि उनले जोड दिए । नेपाली मौलिक सभ्यताको पहिचान प्रवद्र्धनका लागि पनि अब कार्यक्रम बनाइने आयोगका सदस्य फुयाँलले बताए ।
प्रतिष्ठानका कुलपति कान्छाकुमार केके कर्माचार्यले आधुनिक कला ग्यालरीको स्थापना गर्न लागिएको जानकारी दिए । नक्सालस्थित सीताभवन दरबारको नौ रोपनी चार आना तीन पैसा तीन दाम जग्गामा अत्याधुनिक ग्यालरी बनाउन लागिएको उनले बताए ।
राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो पूर्ण कदको सालिक निर्माणका लागि बजेट अभाव भएर ७५ प्रतिशत काम सकिएर रोकिएको पनि कुलपति कर्माचार्यले जानकारी गराए । भूकम्पले क्षतिग्रस्त भवनको पुनःनिर्माण नसकिनु, कार्यालयमा आवश्यक मात्रामा कर्मचारी अभाव हुनु, प्रतिष्ठानका नियमावली समसामयिक संशोधन नहुनुजस्ता कारणले काममा प्रभाव परेको उनको भनाइ थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले साहित्य र कलामा भेद नभएको बताए । प्रतिष्ठानका क्रियाकलापमा विज्ञान तथा प्रविधिलाई पनि मिसाउनुपर्ने धारणा उनले राखे । प्रज्ञा प्रतिष्ठानले पनि चालु आर्थिक वर्षमा धेरै पुस्तक प्रकाशन गरेको उल्लेख गर्दै कुलपति गुरुङले प्रतिष्ठानले आजैदेखि ती पुस्तकको प्रदर्शनी सुरु गरेको जानकारी दिए ।
ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले यस क्षेत्रको प्रवद्र्धनका लागि काम गरिरहेको प्रतिष्ठानले प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्रीलाई चार वर्षपछि मात्र कार्यक्रममा पाएकामा खुसी व्यक्त गरे ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नाटक, नृत्य र वादन पनि ललितकला नै भएकाले ललितकला प्रज्ञा प्रतिष्ठानको छिमेकी बनेको बताए । अचल सम्पत्तिलाई उपयोग गरेर आंशिकरूपमा भए पनि आत्मनिर्भर बन्न तीन वटै प्रतिष्ठान लाग्नुपर्नेमा उनले जोड दिएका थिए । आत्मनिर्भर भएपछि ऐनअनुसार स्वायत्त पनि भइने उपकुलपति शर्माको भनाइ थियो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले आर्थिक वर्ष २०७८÷२०७९ मा चालुतर्फ ९९।०८, पूँजीगततर्फ ८७।५६ र कार्यक्रमतर्फ ९९।३६ प्रतिशत गरी कुल ९७।२२ प्रतिशत प्रगति भएको जानकारी दिए । भूकम्पपछि प्रि–फ्याब भवनमा बसेर कार्यालय सञ्चालन गर्नुपर्दा केही कठिनाइ भएको उनले सुनाए ।
FACEBOOK COMMENTS