गलेश्वर,कार्तिक २१- यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मिटर) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन्।
पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट ३२ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ। यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ। धवलागिरि गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ।
अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको संख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ। सन् १९६० मे महिनाको १३ तारिखमा अष्ट्रेलियन नागरिक कुर्डले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ।
तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्भे गरेको भए पनि सन् १९४९ मा गरिएको स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो। केही समय अगाडि विश्व कीर्तिमान बनाउने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो।
अहिलेसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ। त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। रासस
FACEBOOK COMMENTS