काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो ।
त्यसै गरी बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ । उपाध्यक्ष पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री छन्।
प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान भएपछि संसदीय दलको नेतृत्व छनोट गरिएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए।
संसदीय दलको नेतामा चयन भएपछि अध्यक्ष नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्थामा सामाजिक रूपान्तरणका साथै जनअधिकार स्थापित गर्न पार्टीलाई गतिशील बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई आजै स्वागत तथा सम्मान गरेको पार्टीले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको छ ।
FACEBOOK COMMENTS