काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा.सिके राउतलाई दिएको छ ।
पार्टीको जनकपुरधाममा मङ्गलवार बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए ।
संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए । जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् । प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठुलो दल बनेको छ ।
मधेस प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने अवस्था छ ।
FACEBOOK COMMENTS