धनगढी, मंसिर १ – कैलालीको धनगढी विमानस्थलमा मंसिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् ।
धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको काम बाँकी रहेकाले सो कामलाई निरन्तरता दिन आजबाट दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
गत जेठमा एक हजार ८ सय मिटरमध्ये ४ सय २० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी रहेकाले विमानस्थलको स्तेरोन्नतिका लागि आंशिक उडान मात्रै गरिने विमानस्थल प्रमुख बुढथापाले बताए ।
विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् ।
विमानस्थल कार्यालयले दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म हुने उडानहरु अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको छ । त्रिभुवन विमानस्थलपछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको छ । रासस
FACEBOOK COMMENTS