गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो ।
रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिए । उनका अनुसार यात्रुको सङ्ख्याका आधारमा साप्ताहिक दुई दिनको उडान पनि भर्न सकिने छ । तर अझै हप्ताको कुन बार उडान हुने भन्ने निर्णय भइसकेको छैन ।
रेसुङ्गा नगरपालिका र तारा एयरको समन्वयमा पहिलो चरणका केही नियमित उडान हुनेछन् । यात्रु भएमा मात्र नियमित उडान गर्ने तारा एयरको तयारी छ । रेसुङ्गा विमानस्थलबाट सफल परीक्षण भएको र अब तारा एयरको प्राविधिक समूह आएर काम गर्नाका साथै कर्मचारी राखेपछि बढीमा दुई हप्तापछि नियमित उडान गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले बताए । “हामीले नाफाका लागि नै उडान गर्ने हो, जसका लागि पर्याप्त मात्रामा यात्रु हुनुपर्छ”, प्रवक्ता बर्तौलले भने, “यात्रु भएमा हामीले साप्ताहिक रुपमा एक पटक र बढीमा दुई पटक नियमित उडान गर्नेर्छौं ।” उनका अनुसार गुल्मीदेखि काठमाडौँसम्म जहाजको यात्रा ४५ मिनेट र भाडा रु आठदेखि नौ हजारको बीचमा रहनेछ ।
रेसुङ्गा विमानस्थलमा परीक्षणका लागि सफल अवतरण गराउनुभएका पाइलट सञ्जीव श्रेष्ठले दिउँसो र साँझपख हावाको नकारात्मक प्रभाव पर्ने भएकाले बिहानी समय दिउँसो १२ बजेभित्र उडानका लागि कुनै समस्या नहुने बताए । उनले यात्रु भएमा आफूहरु नियमित उडान गर्न तयार रहेकोसमेत बताए ।
गुल्मीलाई दिगो रुपमा हवाई सेवा दिनका लागि आफूहरुले निरन्तर पहल गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । “गुल्मीको भाग्य र भविष्यसँग रेसुङ्गा विमानस्थल जोडिएको छ”, उनले भने, “नियमित उडानको तयारी भइरहेको छ, दुई हप्तापछि सुरु हुन्छ ।”
यात्रुको सङ्ख्या कम भएको खण्डमा सुरुसुरुको समयमा रेसुङ्गा नगरपालिकाले सहयोग गर्नेछ । तर यात्रुका कारण नियमित उडान नरोकिने नगरप्रमुख पन्थीको दाबी छ । रेसुङ्गा विमानस्थलबाट १८ सिट क्षमताको जहाज उड्नेछ ।
विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास भएको थियो । यहाँ २०७५ जेठ २५ गते तारा एयरकै जहाजले सफल रुपमा धुले उडान परीक्षण गरेको थियो ।
विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा विमानस्थल फैलिएको छ । कूल ३५ करोड लागतमा विमानस्थल तयार भएको आयोजना कार्यालयका इन्जिनियर दिनेश परियारले बताए ।
FACEBOOK COMMENTS