काठमाडौं,मंसिर ३- इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल)ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।
इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बर्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ ।
आइडियाले आइतबार काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजीश्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताए । विगतमा आफूले घर निर्माणमाइन्टेरियर डिजाइनरको प्रयोग नगर्दा २ पटकसम्म भत्काउँदै बनाउँदै गर्नुपरेको अनुभव सुनाउँदै उनले कुनै पनि संरचना निर्माण गर्दा नक्सा कोर्दा देखिनै डिजाइनरलाई लिने हो भने सोचेभन्दा राम्रो संरचना बन्ने दाबी गरे ।
अध्यक्ष श्रेष्ठले नेपालमा इन्टेरियर डिजाइनरहरु व्यवसायिक रुपमा अगाडी आएकोमा बधाई पनि दिए । सहज रोजगारीको लागि इन्टेरियर डिजाइनिङ उपयोगी विषय भएकाले युवा पुस्ताको आकर्षण बढ्दै गएको र नेपालमा यो विषयको अध्यापनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे ।
आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरुको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताइन् । इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गरिन् ।
अध्यक्ष कक्षपतिले भनिन्, ‘आइडियाले स्वीट सिक्सटीन मनाइरहेको छ । यो उमेर भनेको उर्जाशिल र भविष्य कोर्ने उमेर हो त्यसैले यसलाई बलियो बनाउन सवैको साथ चाहिएको छ । आइडिया सबैको साझा संस्था हो । यसमा इन्टेरियर डिजाइनर मात्रै होइन इन्जिनियर, आर्किटेक्ट, प्लम्बिङदेखि सबै पेशामा आबद्ध व्यक्तिहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
उनले आर्थिक अवस्था र जनशक्ति मुख्य चुनौतिका रुपमा देखिएकाले यसको समुचित विकासमाराज्यको ध्यान जाओस भन्दै राष्ट्र निर्माणमा डिजाइनरहरुको महत्वपूण भूमिका हुने भएकाले सहभागिताको माग गरिन् ।
त्यसैगरी, कार्यक्रममा बोल्दै आइडियाकी संस्थापक अध्यक्ष प्रा.डा. मथुरा कार्कीले १६ वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा आएको परिवर्तन स्मरण गरिन् । उनले अहिले थुप्रै अवसर भएकाले इन्टेरियर डिजाइनको विषय छनौट गरी राम्रोसँग अध्ययन गर्न नयाँ पुस्तालाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै आइडियाका महासचिव श्यामबहादुर श्रेष्ठले आफू र आफ्नो पेशाबारे परिचय दिँदै हिँड्नुपर्ने अवस्थाबाट व्यवसायिकतामा फड्को मारिएको स्मरण गरे । उनले त्यो अवस्थाबाट उठेरअहिले निकै ठूलो परिवर्तन भएको दाबी गर्दै राज्यका उच्च निकायले यो पेशालाई स्थान दिएर देश निर्माणमा इन्टेरियरलाई पनि सहभागि गराउन आग्रह गरे ।
वार्षिकोत्सवको अवसरमा साउथ एशियन एएमएफका निर्देशक टेडी डिसुजाले इन्टेरियर डिजाइनिङमा सुरक्षा प्रविधिको प्रयोगबारे प्रस्तुती दिएका थिए । जस्तोः डिजाइन गर्दा साउण्ड प्रुफबारे कसरी ध्यान दिने, आगलागी रोक्ने साथै अन्य सामान्य दुर्घटना हुनबाट जोगिन कस्ता सावधानी अपनाउन सकिन्छ भन्नेबारे प्रस्तुती दिए। उनले स्कूल, अस्पताल, व्यवसायीक भवन, घर आदिको निर्माण गर्दा सुरक्षित इन्टेरियरबारे हरेक इन्टेरियर डिजाइनर सजग हुनुपर्ने धारणा राखे
सोही कार्यक्रममा संस्था, डिजाइनर, उद्यमी, व्यवसायी र उनीहरुको कार्यबारे सूचना सम्प्रेषण गर्नेगरीप्रकाशन प्रारम्भ भएको आइडियाको ‘न्यूज लेटर’ पनि सार्वजनिक गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा हस्तकला महासंघका अध्यक्ष सुनिल चित्रकार, इन्टेरियर डिजाइनिङ पेशामा आवद्ध व्यक्तित्वहरु, डिजाइनरहरु, इन्टेरियर डिजाइनिङ अध्ययन गर्दै गरेका विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS