काठमाडौँ । विभिन्न अटोमोबाइल कम्पनीहरुले काठमाडौँ महानगरपालिकाले आफ्नो कम्पनीको होडिङ बोर्डको साइज निर्धारण गर्नु अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको भन्दै विरोध जनाएका छन् ।
महानगरपालिकाले काठमाडौँ सहरलाई सुन्दर बनाउन भन्दै राखिएका होडिङ बोर्डहरु हटाएर आफूले निर्धारण गरेको साइजअनुरुप राख्न निर्देशन दिएसँगै त्यो कुरा अटोमोबाइलको क्षेत्रमा लागू नहुने अटोमोबाइल वितरकहरु बताउँछन् ।
नाडा अटोमोबाइल एशोसियसन्स अफ नेपालका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘अटोमोबाइल कम्पनीहरुले अन्तर्राष्ट्रिय रुपमा होडिङ बोर्डहरु विश्वव्यापी रुपमा कत्रो बनाउने भनेर निर्धारण गरेका हुन्छन्, त्यहीअनुरुप हामीले बोर्डहरु राखेका छौँ ।’ थापाथलीस्थित कम्पनीमा केही समयअगाडि महानगरले होडिङ बोर्ड हटाएर महानगरको मापदण्डअनुरुपको होडिङ बोर्ड राख्न निर्देशन दिएपछि कम्पनीले महानगरलाई पत्राचार गरेर कम्पनीको अन्तर्राष्ट्रिय मान्यताका विषयमा जानकारी दिएको थियो । तर त्यसको कुनै प्रतिक्रियाबिना महानगरले पुनः दुई/तीन दिनभित्र बोर्ड हटाउन निर्देशन दिएको थापा बताउँछन् ।
अटोमोबाइलका विज्ञापनहरुले सहरलाई कुरुप बनाउनुभन्दा झनै सुन्दर बनाइरहेको अटोमोबाइल कम्पनीहरुको दाबी छ ।
हाम्रो मापदण्ड पालना गर्नैपर्छ : महानगर
काठमाडौँ महानगरपालिकाले महानगरले तोकेकोभन्दा बढीका होडिङ बोर्डहरु अनिवार्य रुपमा हटाउने महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् ।
उनी भन्छन्, ‘हामीले सुन्दर काठमाडौँको परिकल्पना गरेर अनिवार्य रुपमा हटाउन खोजेका हौं, यसमा कसैले विरोध गरेर नहटाउने भन्ने हुँदैन ।’ यसमा अरु देशमा के भइरहेको छ भन्दा पनि महानगरले के गर्न खोजेको हो भन्ने महत्वपूर्ण हुने उनले बताए ।
FACEBOOK COMMENTS