काठमाडौं, मंसिर ५ – प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए ।
नयाँ सूचीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सहरी विकासमन्त्री इस्तियाक राइ यादव र खानेपानीमन्त्री विना मगरलाई यथावत् राखिएको छ।
समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिएको छ। उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
तत्कालीन एमाले कोटाबाट सरकारमा सामेल मन्त्रीमा भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई हटाइएको छ।
पूर्व माओवादीको कोटामा ओली सरकारमा सहभागी कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी पदमुक्त भएका छन्।
FACEBOOK COMMENTS