काठमाडौं,मंसिर ५ – राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन् । नयाँ प्रविधिको विकाससँगै अहिले मुलुकमा राजस्व छलीका अनेक रूप देखिन थालेका छन् ।
राजस्वमाराले योजनाबद्ध रूपमा अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्सबटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छली गर्दै आइरहेको राजस्व अनुसन्धान विभागका अधिकारीले बताएका छन् ।
विभागका अधिकारीका अनुसार राजस्व छली गर्नेहरूले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासुसमेत काठमाडांै ल्याएको भेटिएपछि राजस्व छलीका विभिन्न रूप प्रकट हुन थालेका हुन् ।
छलीका विविध रूप देखा पर्न थालेपछि राजस्व अनुसन्धान विभागले पनि राजस्व छली गर्नेविरुद्ध आक्रामक अनुसन्धान र कारबाही अघि बढाउन थालेको छ । विभागले विगत १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले १७ महिनाको अवधिमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिविरुद्ध १७ अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा दायर गरिएको बताए । महानिर्देशक मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्सबटम बनाएर भन्सार छलाउने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने खालका पुराना कार्यशैलीसँगै अहिले राजस्व छल्नेहरूले विभिन्न नयाँ तरिका अपनाउने गरेको बताए । ‘चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट बिनाघोषणा रेफ्रिजेरेटरयुक्त कन्टेनरसहित टनका टन तयारी मासुसमेत काठमाडौं ल्याउने गरिएको छ, जुन राजस्व छलीको डरलाग्दोरूप हो,’ मैनालीले भने ।
उनले नक्कली भ्याट बिल बनाएर कारोबार गर्नेसित मात्र करिब ११ अर्बभन्दा बढी बिगो दाबी गरिएको जानकारी दिए ।
पछिल्लो समय विभागको अनुसन्धान टोलीले टोयटा कम्पनीका दुईवटा चोरीका फर्चुनल गाडी र बिनाघोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडौं ल्याइपु¥याएका ११ टन (फ्रोजन)तयारी मासु नियन्त्रणमा लिई सो कार्यमा संलग्नलाई कानुनी कारबाहीका लागि हिरासतमा राखिएको जनाइएको छ ।
विभागका महानिर्देशक मैनालीका अनुसार काठमाडौंका दुई जना व्यवसायी दीपज्योति ग्रुप एन्ड फुड प्रोडक्ट कम्पनीका सञ्चालक बासुदेव मरहट्टा र सीआर ट्रेडिङका सञ्चालक रिंकी चौधरी साहले केही दिनअघि बिनाघोषणा सर्लाहीको मलंगवा भन्सार हुँदै काठमाडौं ल्याइपु¥याएका ११ टन (फ्रोजन) तयारी मासु नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतीय दुईवटा रेफ्रिजेरटरयुक्त कन्टेनरबाट भन्सारमा हरियो केराउ, मकै, फिंगरचिप्स घोषणा गरी लुकाएर ल्याएको कुखुरा र हाँसको मासु एवं केही केजी गंगटासहितको तयारी मासु काठमाडांै ल्याएका थिए । अहिले यस्तो अवैध कार्यमा संलग्न व्यवसायीहरू प्रहरी हिरासतमा रहेका छन् ।
यसैगरी, भारतबाट चोरी गरी ल्याइएको हाल नेपालमा करिब १ करोड ६५ लाखदेखि १ करोड ७२ लाख रुपैयाँ पर्ने जापानी कार उत्पादक कम्पनी टोयोटाको दुईवटा २०१९ मोडलको ‘फर्चुनर’ कार यातायात व्यवस्था कार्यालयबाट वैधानिक गराउने क्रममा नियन्त्रणमा लिइएको विभागले जनाएको छ । विभागले मंगलबार मात्र नक्कली बिजक प्रयोग गरी १० करोड १५ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा काठमाडौंको ग्रिन टोबाको कम्पनी प्रालिविरुद्ध काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । दोलखा घर भई हाल काठमाडौं बस्दै आएका सो प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठलाई विपक्षी बनाई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
श्रेष्ठसँगै विभागले सफिन एन्ड ब्रदर्स इन्टरप्राइजेजका प्रोपाइटर सरोज केसी, आरएस स्टोरका प्रोपाइटर मुकेश अग्रवाल, अभिनव सुर्ती उद्योगकी प्रोपाइटर सुष्मा गोयन्कालाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको जनाएको छ । यसैगरी, गोल्डन टोबाको इन्डस्ट्रिजका सञ्चालक र सहयोग सुर्ती उद्योगका प्रोपाइटर दिनेश बासुकला तथा ओम साई सुर्ती उद्योगकी प्रोपाइटर जानुका कार्कीलाई प्रचलित कानुनबमोजिम अन्तःशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको विभागले जनाएको छ । उनीहरूविरुद्ध दायर मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१)र(३)बमोजिम बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
यसअघि विभागले आइतबार मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बीजक प्रयोग गर्ने दुईवटा फर्मका दुई महिलासहित तीन जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले १ करोड ७४ लाख २१ हजार ८ सय ७० बिगो र बिगोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।
साबिक गोरखा जिल्ला हंसपुर गाविस ५ मा स्थायी बसोवास भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने अम्बेल इन्टरप्राइजेजकी प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा १ करोड २८ लाख ७६ हजार ५ सय ४५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । अम्बेल इन्टरप्राइजेजले वस्तु तथा सेवा खरिद नै नगरी भ्याट बीजक मात्र खरिद गरी भ्याट र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS