काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनले भने, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर भोलि आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” उनका अनुसार भोलि नै सपथ ग्रहण कार्यक्रम हुनेछ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।
स्रोतका अनुसार सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका हुन् । उच्चस्तरीय संयन्त्रको बैठकले मन्त्रालयहरुको भागवण्डा गर्दा एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३र३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछन् भने जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।
एमाले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ । माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन पाउने भएको छ । रास्वपाले गृह, शिक्षा र श्रम तथा राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद अनी जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएका हुन् ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने भएका छन् । सपथ ग्रहरणको समसम्म पुग्दा यो सूची परिवर्तन पनि हुन सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS