काठमाडौं, मंसिर ९ – काठमाडौं–तराईरमधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको ३ महीनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ ओटा पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ । आगामी फागुनदेखि उक्त द्रुतमार्गमा ७१ ओटा पुल निर्माणको काम शुरू गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।
कुल ७२ दशमलव ५ किलोमीटर ९किमी०को द्रुतमार्गमा बन्ने ८७ पुलमध्ये १६ ओटा विशेष पुल भने अन्तरराष्ट्रिय निर्माण कम्पनीले बनाउनेछन् । ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरू हुने भएको छ । पहिलो चरणमा नेपाली निर्माण कम्पनीले मात्रै बनाउने पुलहरू निर्माण कार्य अघि बढाउने गरी गृहकार्य भएको सेनाले बताएको छ । तर, यसअघि पुल निर्माणका लागि भएका सबै कामहरू रद्द गरी सेनाले नयाँ कार्यतालिका अनुसार फागुनदेखि पुल निर्माणको काम शुरू गर्ने भएको हो ।
द्रुतमार्गमा बन्ने १६ विशेष पुल प्राविधिक र भौगर्भिक रूपमा जटिल भएकाले अन्तरराष्ट्रिय निर्माण कम्पनीबाट निर्माण हुनेछ । ती पुलको टेन्डर दोस्रो चरणमा अर्थात् माघसम्म सम्पन्न गरी चैतदेखि ती पुल निर्माणको काम अगासड बढाइने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
द्रुतमार्गमा बन्ने तीनओटा सुरुङमार्गको काम भने आगामी आर्थिक वर्षमा मात्रै शुरू हुने पाण्डेको भनाइ छ । सुरुङमार्ग निर्माणका लागि आगामी चैतमा टेन्डर आह्वान गरिने भएको छ । ४ वर्षमा सम्पन्न गर्ने भनिएको उक्त द्रुतमार्गका लागि अभैm ७९९ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । प्रवक्ता पाण्डेले भने, ‘कुल १५ हजार ४६८ रोपनीमध्ये १४ हजार ६६९ रोपनी अधिग्रहण भइसकेको छ, बाँकी ७९९ रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाइएको छ ।’
उक्त अधिग्रहण गर्नुपर्ने जग्गा डीपीआर बनेपछि थपिएको सुरुङमार्गका लागि आवश्यक देखिएको हो । सेनाका अनुसार उक्त जग्गा भेद्रे खोला र खोकानामा रहेको छ । सेनाले चालू आर्थिक वर्षमा यस आयोजनाका लागि रू. १५ अर्ब बजेट पाएको छ ।
उक्त आयोजनामा पर्ने सडकमा १२ ओटा बेलिब्रिज पनि बनाउने भएको छ । त्यसमध्ये चारओटा सम्पन्न भएका छन् भने तीनओटा जडान गर्ने काम शुरू भइसकेको छ । यसैगरी पाँचओटा बेलिब्रिज बनाउने आवश्यक गृहकार्य अघि बढाइएको सेनाले बताएको छ । असोजसम्ममा सेनाले कुल सडकमध्ये २५ दशमलव ४४ किमी सडकको काम सम्पन्न गरिसकेको छ भने हालसम्म १ करोड ३४ लाख घनमीटर जमीन कटिङ र १५ लाख घनमीटर जग्गा फिलिङ गरिसकेको छ ।
यसैगरी हालसम्म सेनाले १७ हजार ९४९ ओटा रूख काटिसकेको छ, भने उक्त दु्रतमार्गका लागि १८ हजार ७४० रूख काट्नुपर्ने आवश्यकता देखिएको थियो । द्रुतमार्ग निर्माण गर्न ४ वर्षको म्याद पाएको सेनाले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्ने दाबी गर्दै आएको छ ।
सरकारले २०७४ साउनमा आयोजना सेनालाई हस्तान्तरण गर्दै ४ वर्षभित्र (२०७८ साउन) सम्ममा सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, डीपीआर लगायत कार्य सम्पन्न गर्न नै सेनालाई २ वर्ष लागेको छ । अहिले नयाँ डीपीआर स्वीकृत भएको ४ वर्ष अर्थात् २०८० सम्ममा सेनाले उक्त आयोजनाको काम सम्पन्न गर्नुपर्नेछ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS