काठमाडौँ । नेपालमा सुचना प्रविधि भित्र्याउन कम्प्युटर एसोसियसन नेपाल (क्यान) ले महत्वपूर्ण भूमिका खेलेको छ । सुरुवातदेखि अहिलेसम्म नेपालमा इन्टरनेटको विकासदेखि कम्प्युटरको हार्डवेयर र सफ्टवेयरको पाटोसम्म भित्र्याउने काम क्यानले नै गरेको हो । क्यानको निर्माणपछि बनेको नेतृत्वले यसको विकास र विस्तार गर्दै आजसम्मको स्थितिमा आइपुगेको छ । केही समय अगाडि मात्रै क्यानको नयाँ नेतृत्व पनि परिवर्तन भइसकेको छ । पुरानो नेतृत्वले यसको विकासमा के काम गर्यो लगायतका विषयमा क्यानका पूर्वअध्यक्ष नवराज कुँवरसँग कर्पोरेट खबरका लागि मीना घोरसाइनेले गरेको कुराकानी :
भर्खरै तपाईंको कार्यकाल पनि सकिएको छ, कस्तो रह्यो तपाईंको अनुभव ?
मेरो कार्यकाल सुरु भएलगत्तै कोभिड पनि सुरु भयो । जसका कारण मेरो दुईवर्षे कार्यकाल एक वर्ष थपिएर तीन वर्षसम्म नेतृत्व गर्न पाएँ । सधैंभन्दा कोभिडको अवस्थामा अलि फरक ढंगबाट नयाँ सिकाइ पनि लिन पाएँ । क्यान महासंघलाई अगाडि लैजाने क्रममा कोभिडले पनि सहयोग गर्यो भन्ने मलाई लाग्छ ।
कोभिडभन्दा अगाडि सुचना प्रविधिका क्षेत्रमा आम मानिसहरु जति साक्षर थिए, कोभिडको बीचमा सुचना प्रविधिका प्रयोगकर्ता स्वचालित रुपमा बढेको पाइन्छ । त्यो समयमा क्यानमार्फत हामीले समाजमा लगेका कार्यक्रमहरुले महत्व पाएको हामीले पायौं । त्यस्ता कार्यक्रमहरु गर्नका लागि हामीमा उत्साह पनि थपियो । त्यसकारणले पनि होला क्यान महासंघको तीस वर्षको इतिहासमा हामीले ७७ वटा जिल्लामा बिस्तार फैलाउन सफल भयौं । अरु क्षेत्रलाई कोभिडले काम गर्न दिएन् । तर हाम्रो क्षेत्र सुचना प्रविधि भएकाले भौतिक रुपमा नभएपनि भर्चुअल रुपमा क्यान महासंघलाई आम मानिसहरुमाझ चिनाउन र यसका उद्देश्यहरुमा काम गर्नको निम्ति हामी सफल नै रह्यौं ।
अहिलेको सन्दर्भमा नेपालमा सुचना प्रविधिका क्षेत्रमा के–कस्ता परिवर्तन आएको छ ?
नेपालको सन्दर्भमा सुचना प्रविधि एकदमै अत्यावश्यक विषयवस्तु हो । अर्को अर्थमा जन्मेदेखि मृत्युपर्यन्त सुचना प्रविधि सँगसँगै जानुपर्ने अवस्था आइसकेको छ । जो कोहीले पनि सुचना प्रविधिलाई नअंगाली अगाडि बढ्नै सक्दैन । त्यसकारण पनि यही क्षेत्रमा काम गर्नेहरुका लागि हिजोका दिनमा सुचना प्रविधिलाई कसरी प्रयोग गर्ने भनेर हामी सिकाउँथ्यौं । अहिले पनि विश्वमा आइरहेका सुचना प्रविधि नेपालमा लागू गर्न सक्छौँ कि सक्दैनौं भन्ने कुरामा हामी केन्द्रित भइरहेका छौँ । त्यही हिसाबले केन्द्रदेखि प्रदेश र जिल्लासम्म तय गरेका छौँ । विशेषतः सरकारका कुनै पनि तहले आफ्नो कामकाजलाई चुस्त र दुरुस्त देखाउनका निम्ति सुचना प्रविधि प्रयोग गर्नु आवश्यक देखिन्छ । त्यसैले सरकारले नै सुचना प्रविधिलाई पहिलो प्राथमिकतामा राख्यो भने अन्य व्यवसाय र आम नागरिकले पनि सँगसँगै त्यसलाई अपडेट गर्न सजिलो हुन्छ भन्ने विषय क्यानले उठाइरहेको छ ।
अहिलेको परिप्रेक्ष्यमा सुचना प्रविधिका क्षेत्रमा के–कस्ता अवसरहरु छन् ?
नेपालका सन्दर्भमा सुचना प्रविधिका क्षेत्रमा धेरै नै अवसरहरु छन् । नेपालमा रोजगारीको कुरा गर्ने हो भने सबैभन्दा बढी सुचना प्रविधिकै क्षेत्रमा अवसरहरु छन् । सबैले सुचना प्रविधिको प्रयोग नगरी नयाँ कामहरु सुरु गर्नै सक्दैनन् । उद्योग कलकारखाना होस् या पसल व्यवसायीहरुले पनि सुचना प्रविधिलाई प्रयोग नगरी हुँदैन । सुचना प्रविधिको क्षेत्रमा नेपालको सन्दर्भमा धेरै नै रोजगारीको अवसर छ भन्ने हाम्रो कुरा हो ।
विशेषगरी सरकारी स्तरबाट यो क्षेत्रमा के–कस्ता सुधारहरु आवश्यक छन् ?
सरकारी स्तरबाट गर्नुपर्ने विशेगरी नीतिगत कुराहरु नै हुन् । नेपालमा सुचना प्रविधिका क्षेत्रमा बनेका नीतिहरु राम्रा छन् । तर कार्यान्वयनमा भने आउन सकेका छैनन् । साँच्चै नै ती नीतिहरुलाई कार्यान्वयन गर्ने हो भने या भनौं डिजिटल नेपाल फेमवर्क ‘२०७६’ कार्यान्वयन गर्ने हो भने साँच्चै नै नेपाल सिंगापुर बन्न धेरै समय लाग्दैन । त्यसभित्र धेरै विषयवस्तुहरु छन् । तर विडम्बनाको कुरा त्यो कार्यान्वनको पक्ष अलि फितलो छ । नेपाल सरकारको कुनै पनि अंगले प्रविधिलाई कार्यान्वयन गर्न सकिरहेको छैन । केही बुझेकाहरु बाँमे सरिरहेको अवस्था छ ।
सुचना प्रविधिको भविष्य कस्तो देख्नुहुन्छ ?
सुचना प्रविधिको भविष्य आफैंमा सुनिश्चित छ जस्तो मलाई लाग्छ । सुचना प्रविधिको व्यवसायको प्रयोग गर्नेले होस् वा यसको अध्ययन गर्नेले होस् या योसँग सम्बन्धित जागिर खानेले होस् सबैको भविष्य राम्रो छ । त्यसमा पनि विशेषगरी आइटी इन्जिनियरहरुको भविष्य एकदमै राम्रो छ । चाहे सफ्टवेयरको कुरा होस् वा हार्डवेयरको कुरा होस्, यो क्षेत्र फस्टाउने अवस्थामा छ ।
अझै पनि हाम्रो समाजमा सुचना प्रविधिसम्बन्धि जनचेतनाको अभाव छ । त्यसकारण हामीले सरकारलाई भनेका छौँ, सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा डिजिटल साक्षरतालाई प्राथमिकता दिनु आवश्यक छ । चाहे स्थानीय सरकार होस्, प्रदेश सरकार होस् या संघीय सरकार होस्, तीनै तहका सरकारले सुचना प्रविधिको विकासका निम्ति डिजिटल लिट्रेसीलाई अगाडि बढाउनुपर्छ । जबसम्म सुचना प्रविधिको विकास हुन सक्दैन, तबसम्म हामीले सोचेका पर्यटन, विकास, शिक्षा, स्वास्थ्य, आधुनिक कृषि लगायतका कुराहरु अगाडि जान सक्दैन । त्यसकारण सरकारको पहिलो प्राथमिकता सुचना प्रविधिको विकास हुनुपर्छ भन्ने कुरा हामीले उठाइरहेका छौँ ।
सुचना प्रविधिको क्षेत्रमा परिवर्तन गर्न के–कस्ता सुधारहरु गर्न आवश्यक छ ?
पहिलो राज्यले दिने सुविधाहरुलाई सुचना प्रविधिमैत्री बनाउनु आवश्यक छ । ताकी जसलाई प्रयोग गर्न आम मानिसले प्रविधिकै प्रयोग गर्नुपरोस् । उदाहरणका लागि एउटा वडाले जन्म र मृत्युको प्रमाणपत्र घरमै बसेर लिन सकोस् र त्यसको प्रमाणपत्र घरमै पुगोस् । अन्य राजस्वको कुरा हुन सक्छ, एउटा विद्यार्थीले झोलामा किताब बोकेर होइन, उसले एउटा पेनड्राइभ बोकेर जानुपर्छ । उसले मोबाइलबाटै इ–बुक पढ्न पाउनुपर्छ । त्यसरी गयो भने यसको विकास पनि हुन्छ र हिजोका ती झन्झटिला कुराबाट मुक्त पनि हुन सकिन्छ ।
अन्त्यमा क्यानका विषयमा के भन्न चाहनुहुन्छ ?
नेपालमा सुचना प्रविधिको जग बसाल्ने थलो भनेकै क्यान महासंघ हो । क्यान महासंघभित्र आवद्ध यसका सदस्य साथीहरुले नै जग बसाल्ने काम सुरु गर्नुभएको हो । नेपालमा सुचना प्रविधिको कुनै विभाग नहुँदा, कुनै मन्त्रालय नहुँदा ३० वर्षअगाडि स्थापना भएर विश्वमा आएको प्रविधिहरु र नेपाल भित्रिएका प्रविधिहरुलाई आम मानिसमा लगेर सिकाउने काम गर्दै नै आयो र अहिले पनि त्यही नै गरिरहेको छ । पछिल्लो दिनहरुमा हामी सहरभन्दा गाउँ केन्द्रित बढी छौँ । अझै पनि नेपालका हिमाली क्षेत्र र मध्यपहाडी जिल्लाहरुमा इन्टरनेटको सुविधा पुग्न सकेको छैन । फोनको समेत सुविधा छैन । ती ठाउँहरुलाई बढी केन्द्रित गर्ने र पूर्वाधारहरुको कुरामा सरकारले लगानी गरी उनीहरुलाई शिक्षित गराउने सन्दर्भमा क्यान महासंघले पनि सहयोग गरेको छ । किनभने क्यान महासंघसँग प्रविधि पनि छ र प्राविधिक पनि छन् । त्यही हिसाबले हामीले हाम्रा कार्यक्रमहरु उपत्यका बाहिरका ७४ वटै जिल्लामा लगिरहेका छौँ ।
FACEBOOK COMMENTS