विराटनगर । विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ ।
विराटनगर–७ मा आदर्श बालिका विद्यालय छ । बालिकामात्र अध्ययन गर्ने आदर्श विराटनगरको एक मात्र विद्यालय हो । विद्यालयमा तीन सय २५ बालिका अध्ययनरत छन् । कक्षा १ देखि कक्षा १० सम्म नेपाली माध्यममा यहाँ पढाइ हुन्छ ।
विद्यालयमा मुख्य गरी मधेसी, मुस्लिम, पिछडा र सीमान्तकृत समुदायका बालिका पढछन् । सरदर दैनिक २० देखि २५ बालिका कक्षामा हाजिर हुँदैनन् । घरको कामले नभ्याएर पनि कतिपय बालिका विद्यालय आउनबाट वञ्चित हुने गरेको आदर्शका प्रधानाध्यापक रमेश नेपालले बताए । उनी आदर्शमा अध्ययन गर्ने अधिकांश बालिकाका अभिभावक श्रमिक रहेको बताउँछन् । सबेरै उठेर काममा अभिभावक हिँड्नुपर्ने भएकाले कलिलो उमेरमा नै बालिकाले घरको काम सम्हाल्नुपर्ने स्थिति रहेको बताए ।
कक्षा ७ की १३ वर्षीया पिङ्की राजवंशीलाई विद्यालय आउनुअघि र विद्यालयबाट घर पुगेपछि कामको नै चटारो हुने गर्छ । विराटनगर–८ को अशोकचोक बस्ने राजवंशीको घरमा हजुरबुबा, हजुरआमा, बुबा, आमा र ६ वर्षको भाइ छ । राजवंशीको बुबा रमेश राजवंशी र आमा सन्तोषी राजवंशी कटहरी गाउँपालिकामा रहेको बाबा जुटमिलमा कार्यरत छन् । राजवंशीका बुबाआमा बिहानै काममा जान्छन् र अबेर घर फर्कन्छन् ।
बिहान उठेर घरआँगन बढार्ने, लिपपोत गर्ने, पूजा गर्ने, चिया खाजा बनाउने, भाइको हेरचाह गर्ने र भात पकाएर हजुरबुबा हजुरआमालाई खुवाएर राजवंशी विद्यालय पुग्छिन् । विद्यालयबाट फर्केपछि पनि भात पकाएर बुबाआमालाई राजवंशीले पर्खने गर्छिन् भने सुत्ने बेलामा विद्यालयको गृहकार्य गर्छिन् । दाउरामा भात पकाउनु पर्दा चिसो दाउरा नबलेर भात ढिलो पाक्दा विद्यालय छुट्ने गरेको गुनासो राजवंशीको छ ।
यस्तै कक्षा ८ मा पढ्ने १४ वर्षीया निर्विषा दुलालको आमा छैनन् । दुलाल ठूलो बुबाको घरमा बस्छिन् । दुलाल पनि घरको कामधन्दा सकेर विद्यालय आउने गरेकी छन् । घरमा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने दिनचर्या दुलालको रहेको छ । कामबाट समय बच्यो भने विद्यालय आउने दुलाल प्रायः विद्यालयमा अनुपस्थित हुन्छिन् ।
विराटनगर–४ स्थित बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले भर्ना भएपछि पनि बालबालिका विद्यालयमा नियमित हुन नसकेको बताउँछन् । उनले अनुपस्थित हुनेमा बालकभन्दा धेरै बालिका नै रहने गरेको सुनाए । उनले गरिबी, सचेतनाको अभावका कारण अभिभावकले पनि आफ्ना सन्तानलाई काममा लगाइदिने, घरको कामको जिम्मेवारी अबोध बालबालिकाले लिनुपर्ने समस्या अझै विद्यमान रहेको दृष्टान्त व्यक्त गरे ।
विराटनगर–२ स्थित शङ्करपुर आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गा पोखरेलले विद्यार्थीलाई विद्यालयमा नियमित गराउनु भनेको फलामको च्युरा चपाए झैँ रहेको बताए । उनले विद्यालयमा अध्ययन गर्ने कतिपय बालबालिका महिनौँसम्म विद्यालयमा अनुपस्थित हुने बताए । एक त आधारभूत विद्यालय पढ्ने बालबालिका आफैँ शारीरिक र मानसिक रूपमा कमजोर हुने त्यसमाथि पनि घरमा भात पकाउनेदेखि भाइबहिनी हेर्नुपर्ने जिम्मेवारीका कारण उनीहरूले पढ्ने वातावरण पाउन नसकेको बताए ।
पोखरेल भाडामा लिएको सिटी रिक्सा लिएर आफैँ अनुपस्थित रहने विद्यार्थीको घर पुग्ने गर्छिन् । उनले अभिभावकलाई सम्झाइबुझाइ गरेर बहुसङ्ख्यक अनुपस्थित रहने विद्यार्थीलाई विद्यालयमा फर्काउनु भएको छ । विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले नगरक्षेत्रका सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीले कक्षालाई निरन्तरता दिन नसकेको स्वीकार गरे । गरिबी र पछौटेपनका कारण अभिभावकले पनि विद्यार्थीलाई विद्यालय पठाउन नचाहेर घर वा बाहिरको काममा लगाउने गरेको बताए ।
भट्टराईले विद्यार्थीको अनियमित पठनपाठनका कारण सिकाइ क्षमतामा पनि गहिरो असर पर्ने गरेको बताउँछन् । उनले अभिभावकमा जागरुकता जारी छ भन्नुहुन्छ विद्यार्थीको शत्प्रतिशत भर्ना अनि नियमित पठनपाठनका लागि महाशाखाले विभिन्न कार्यक्रम ल्याएको भट्टराईले बताए ।
महाशाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्रका आधारभूत तहको भर्ना दर ९०.१६ प्रतिशत, सामुदायिक विद्यालयमा कक्षा ६ देखि ८ मा ८३.४९, कक्षा ९ र १० मा ८१.२१ र कक्षा ११ र १२ को भर्ना दर ३४.६२ प्रतिशत रहेको छ । विराटनगर महानगरपालिकाभित्र आधारभूत र सामुदायिक ५६ विद्यालय छन् । यी विद्यालयमा १२ हजार एक सय ६८ बालिका र १२ हजार पाँच सय ८८ बालकसहित २४ हजार सात सय ५६ विद्यार्थी अध्ययनरत छन् । नगरक्षेत्रका १९ धार्मिक विद्यालयमा एक हजार ३६ बालिका र एक हजार एक सय ७३ बालक अध्ययनरत छन् । विराटनगर नगरक्षेत्रमा कूल ८४ संस्थागत विद्यालय छन् । यी संस्थागत विद्यालयमा १५ हजार एक सय ४५ बालिका र २० हजार तीन सय १३ बालक गरी कूल ३५ हजार चार सय ५८ विद्यार्थी अध्ययनरत छन् । रासस
FACEBOOK COMMENTS