फाइबर र म्याट्रेसको उत्पादनका क्षेत्रमा आरओके प्रोडक्ट इन्डस्ट्रीज लिमिटेडले बजारमा छुट्टै छाप छोडेको छ । विदेशबाट भित्रने उत्पादनसँग नेपाली उत्पादनले पनि प्रतिस्पर्धा गर्न सक्छ र यहाँको उत्पादन पनि गुणस्तरीय हुन्छ भन्ने छाप यसले उपभोगकर्तामाझ छोडेको छ । सानो लगानीबाट यहाँसम्मको स्थितिमा आइपुगेको यस कम्पनीले हालसम्म धेरै नै उताढचढाव र सफलताको अनुभूत गर्न पाएको छ । लामो समयसम्म यही क्षेत्रमा काम गरेर आएका सञ्चालकबाट सञ्चालित यस कम्पनीमा हाल झण्डै ९९ प्रतिशत नेपाली कामदार नै छन् । यहाँसम्म कम्पनी आइपुग्दा के कस्ता परिवर्तन भए लगायत कम्पनीसँग सम्बन्धित रहेर कर्पाेरेट खबरका लागि मीना घोरसाइनेले कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुहरी लामिछानेसँग गरेको कुराकानी :
इन्डस्ट्रीजको विगतदेखि वर्तमानसम्मको स्थिति के छ ?
हामीले यो कम्पनी सानै कामबाट सुरु गरेका हौँ । सुरुमा हामीले सिरक र तकिया बनाउने हिसाबले सानैबाट सुरु गरेका थियौँ । त्यसपछि हामीले पि–म्याट्रेस बनाउन सुरु गर्याैं । त्यसपछि हामीले म्याट्रेसको उत्पादन बढाउँदै लग्यौँ ।
हामीले सुरुवातमा तीन जना कर्मचारी राखेका थियौँ । यहाँसम्म आइपुग्दा हामीले ७० देखि लगभग ८० जनाको हाराहारीमा रोजगारी दिएका छौँ । अब हामीले प्यु फोमर्म र बोडेड फोमको फ्याक्ट्री बनाउँदै छौँ । त्योअनुसारको भौतिक पूर्वाधार पनि बन्ने क्रममा छ ।
सुरुवातदेखि अहिलेसम्म के–कस्ता चुनौतीहरुको सामना गर्दै आउनुभएको छ ?
हामीसँग आन्तरिक बजारको भन्दा बाह्य बजारकै चुनौती छ । भारतबाट कच्चा पदार्थको आयात गर्दा २५ देखि ३० प्रतिशतसम्म कर भुक्तानी गर्दै आएका छौँ । भारतमा कच्चा पदार्थ उत्पादन गर्दा उनीहरुले थोरै रकममा नै उत्पादन गर्छन् भने हामीसम्म आइपुग्दा धेरै नै बढेर आउँछ । उनीहरुले कच्चा पदार्थ उत्पादन गर्दा खासै खर्च गरेका हुँदैनन् । कच्चा पदार्थ बनाउन धेरै कामदारहरु आवश्यक पर्दैन । प्रतिस्पर्धाको हिसाबले पनि उत्पादन क्षेत्र धेरै नै प्रतिस्पर्धी छ । बैंकको व्याज, सरकारको रणनीति सबैमा चुनौतिपूर्ण रुपमा झेल्दै नै आएका छौँ ।
तपाईंहरुले उत्पादन क्षेत्रमा म्याट्रेस र फाइबरलाई नै किन छनोट गर्नुभयो ?
यो क्षेत्रमा नै मैले काम गर्न लागेको २० देखि २२ वर्ष हुन लाग्यो । १२ देखि १३ वर्ष यही क्षेत्रमा नै बिताइसकेपछि नै मैले यो व्यवसाय सुरु गरेको हुँ । यो क्षेत्रमै काम गर्दा मलाई अनुभव पनि भयो । त्यही कारण यही क्षेत्र नै मैले ठीक ठानें । किनभने अर्काे क्षेत्रमा म जानँ सकिनँ ।
हाल म्याट्रेस र फाइबरको बजारको स्थिति के छ ?
अहिलेको समग्र स्थिति हेर्दा म्याट्रेस र फाइबरको बजारको स्थिति राम्रै छ । नेपालमै उत्पादित म्याट्रेस र फाइबरले ८० प्रतिशत बजारको हिस्सा ओगटेको छ । मेरो हिसाबकिताबमा हेर्दा सरकारले म्याट्रेस, सिरक र तकियाको आयात गर्नुपर्छ जस्तो लाग्दैन ।
म्याट्रेस र फाइबरको अन्य कम्पनीसँगको प्रतिस्पर्धा कस्तो छ ?
हामीलाई अन्य कम्पनीसँग कुनै पनि प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता नै छैन । उनीहरुसँग प्रतिस्पर्धा गर्नु भन्दा पनि आफ्नै उत्पादनलाई कसरी गुणस्तरीय बनाउने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ । हाम्रो मुख्य लक्ष्य भनेकै आयातलाई रोक्नु हो । बाहिर देशबाट भित्रने उत्पादन हामीसँगै छ । कसरी बजार लिने, कसरी उत्पादनलाई राम्रो बनाउने भन्ने मुख्य ध्येय हाम्रो छ ।
अन्य उत्पादन र म्याट्रेस र फाइबरको उत्पादनमा के फरक छ ?
मैले भनिसकें यो क्षेत्रमा म आफ्नै अनुभवका कारण होमिएको हुँ । यस उत्पादन र अन्य उत्पादनलाई तुलना गर्नुपर्छ भन्ने नै मलाई लाग्दैन । म अर्काे क्षेत्रमा जान सक्दिनँ । किनभने मेरो लक्ष्य यही क्षेत्र नै हो र हामीले यही क्षेत्रसँग सम्बन्धित मान्छेलाई नै चिनेका छौँ । एक हिसाबले हामी अन्य सामग्रीको काम नै गर्न सक्दैनौँ ।
यो कम्पनीको सुरुवात कहिलेबाट भयो ?
म्याट्रेस सुरुवात हामीले २०६९ सालबाट गर्याै । हामीले २०७३ सालबाट यसमै केन्द्रित भएर लाग्यौं ।
लगानीको हिसाबले यो क्षेत्र कत्तिको कठिन छ ?
यो क्षेत्रमा लगानी राम्रै हुनुपर्छ । हामीले समयसापेक्ष नयाँ प्रविधि भित्र्याउनुपर्छ । कच्चा पदार्थ राख्नैपर्छ । नेपालमा कच्चा पदार्थ नै छैन । त्यही कारण हामी अन्य देशसँग निर्भर हुनैपर्छ । हाम्रो अर्काे कम्पनी पनि छ, धर्म इन्डष्ट्रिज । त्यहाँ हामीले फाइबरको कच्चा पदार्थ ल्याएर पेलेर सिरक र तकिया बनाउने काम गर्छाैं । यो कम्पनीमा हामीले म्याट्रेस मात्र बनाउने काम गर्छाैं ।
भिडिओ
FACEBOOK COMMENTS