नेपालको सुचना प्रविधिको विकास र विस्तारका लागि नेपाल कम्प्यूटर एसोसिएसन महासंघ (क्यान) ले यहाँसम्म आइपुग्न महत्वपूर्ण भूमिका खेलेको छ । जसका कारण हाल नेपालमा सुचना प्रविधिले धेरै नै फड्को मारिसकेको अवस्था छ । हाल क्यान महासंघ ७७ वटै जिल्लामा विस्तार भएर सुचना प्रविधिका क्षेत्रमा जनचेतना विस्तार गर्ने काम गर्दै आइरहेको छ । केही समय अघि मात्र क्यान महासंघमा नयाँ नेतृत्व पनि परिवर्तन भइसकेको छ । क्यानका समग्र विषयमा नवनियुक्त अध्यक्ष रन्जित कुमार पोदारसँग कर्पाेरेट खबरका लागि मीना घोरसाइनेले गरेको कुराकानीः
क्यानले के–कस्तो क्षेत्रलाई समेट्छ ?
क्यान महासंघको सदस्यहरुको क्याटागोरीहरु चार प्रकारका छन् । जसअन्तर्गत इन्डिभिजिओल मेम्बर, इन्सिच्युस्नल मेम्बर, डिस्ट्रिक मेम्बर र सेक्ट्रल मेम्बरहरु छन् । यसले हार्डवेयरको मात्र नभई सफ्टवेयरको पाटोलाई पनि हेर्छ । यसपालिको हाम्रो इन्फोटेकको टाइटल स्पोन्सर पनि सफ्टवेयर कम्पनी रहेको छ । यसले आइटी सेक्टरमा लागेका सम्पूर्ण व्यक्तिहरुलाई समेत समेट्छ ।
क्यानले हाल के–कस्ता चुनौतीहरु झेल्दै आएको छ ?
कुनै पनि काम गर्दा हरेक क्षेत्रमा चुनौति सामना गर्नैपर्छ । बिना चुनौति काम गर्न मज्जा पनि आउँदैन । काम गर्दै जाँदा चुनौति पनि आउँछन्, ती चुनौतिको समाधान पनि हुँदै जान्छ । आजको सन्दर्भमा हेर्दा सुचना प्रविधिले नै फड्को मारेको अवस्था छ । फड्को मार्दै जाँदा चुनौतिहरु त पक्कै पनि देखा परिहाल्छन् ।
सामाजिक सञ्जालकै कुरा होस्, त्यसबाट हामीले धेरै जानकारीहरु पाउँछौँ । त्यही सामाजिक सञ्जालले धेरै चुनौतिहरु पनि ल्याएका छन् । त्यसलाई हामीले कुन रुपमा लिने त्यो हामीमा नै भर पर्छ । यदि त्यो कुरालाई हामीले सकारात्मक रुपमा सोचेर जाने हो भने सकारात्मक नै हुन्छ । यदि हामीले नकारात्मक रुपमा सोचेर जाने हो भने नकारात्मक नै हुन्छ । हामीले राम्रो कामका लागि उपयोग गर्ने हो भने त्यसले समाजमा धेरै नै परिवर्तन गर्न सक्छ । यदि हामीले नकारात्मक काममा सामाजिक सञ्जाललाई प्रयोग गर्ने हो भने त्यसबाट धेरै नै चुनौतिहरु देखा पर्न सक्छन् ।
सुरुवातदेखि अहिलेसम्म क्यान कुन स्थानमा आइपुगेको छ ?
क्यान महासंघको स्थान धेरै नै माथिसम्म पुगिसकेको छ । सदस्यहरुको हकमा होस् या सुचना प्रविधिको विकासमा होस्, सुरुवातदेखि अहिलेसम्म धेरै नै प्रगति भइसकेको छ । हामी विश्वव्यापी एसएसओ भन्ने संस्थाको सदस्य पनि भइसकेका छौँ । उर्साको पनि सदस्य भइसकेका छौँ । आज एसएसओमा क्यान महासंघका उपाध्यक्ष सदस्य भइसक्नुभएको छ । उर्सालाई हाम्रो कोषाध्यक्षले लिड गरिरहनुभएको अवस्था छ । यसरी हेर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत क्यानले प्रतिनिधित्व जनाइसकेको अवस्था छ ।
क्यान यो स्थानसम्म आइपुग्दा नेपालमा किन सुचना प्रविधि केन्द्रको स्थापना हुन सकेन ?
क्यान एक्लैको प्रयत्नले मात्र सुचना प्रविधि केन्द्रको स्थापना हुन सक्दैन । त्यसमा नेपाल सरकारको पनि प्रयत्न आवश्यक छ । हामीले केन्द्रको स्थापनाका लागि नेपाल सरकारसँग पनि लविङ गरिरहेका छौँ । पूर्व अध्यक्षले पनि त्यो कुरालाई अगाडि बढाउनुभएको थियो । हाम्रो नयाँ कार्यकालले पनि अघि बढाइरहेको छ ।
सरकारले आइटी क्षेत्रलाई चासो दिएन भन्ने आरोप पनि लाग्दै आएको छ । यसलाई क्यानले कसरी हेरेको छ ?
सरकारले यो क्षेत्रमा चासै नदिएको त भन्न मिल्दैन । सरकारले चासो नदिएको भए सुचना प्रविधिको विस्तार यहाँसम्म आइपुग्ने थिएन् । बढी प्राथमिकता दिएन होला, त्यसमा हामीले लविङ गरिरहेका छौँ । कोभिड १९ को समय हामी घरभित्रै बस्न बाध्य थियौं । हाम्रा बालबालिकाले पढ्न नपाउने अवस्था आइपुग्दा यही सुचना प्रविधिले गर्दा घरमै बसेर पढ्ने अवसर पाए । त्यो पढाइलाई पनि मान्यता दिइन्छ, त्यसलाई सरकारले पनि अपनाएको देखिन्छ । राज्यको आवश्यकता कत्तिको छ, भन्ने कुराले पनि सरकारले आइटी क्षेत्रलाई अवलम्बन गरेको देखिन्छ । सुरुवातमा मोबाइल फोनको विकास हुँदा यसको प्रयोग सीमित मात्र थियो । तर सुचना प्रविधिको कारणले गर्दा एउटै मोबाइलबाट धेरै वटा प्रयोग बढेको छ । सुचना प्रविधिकै कारण घरमै बसेर अफिसको काम समेत सम्भव भएको छ । आवश्यकता अनुकुल त्यसको महत्व बढेकोले सरकारले यसलाई महत्वमा राखेको छ ।
अहिलेको अवस्थामा सुचना प्रविधिले के–कस्ता अवसरहरुको सिर्जना गरेको छ ?
सुचना प्रविधि आफैंमा एउटा अवसर हो । सुचना प्रविधिको प्रयोगबाट नै मानिसहरुको जीवनमा आमूल परिवर्तन आइरहेको छ । सुचना प्रविधिका नयाँ आयामहरु पनि थपिँदै गएका छन् । यदि नयाँ आयामसँगै हामीले आफूले आफूलाई ढाल्दै गयौं भने नयाँ–नयाँ अवसरहरु पनि पाउँदै जान सक्छौँ ।
पुरा भिडियाे
FACEBOOK COMMENTS