काठमाडौं- घरेलु तथा साना उद्योगीहरुले सरकारले हालै लागू गरेको श्रम नियमावलीप्रति आपत्ति जनाएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले यही महिनाबाट लागू गरेको श्रम नियमावलीले घरेलु तथा साना उद्यमीलाई मारमा पारेको भन्दै आपत्ति जनाएका हुन्।
नियमावलीमा गरिएको व्यवस्था अनुसार उद्योग चलाउन नसक्ने निष्कर्ष निकाल्दै महासंघले त्यस सम्बन्धमा प्रधानमन्त्री केपी ओलीको गम्भिर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।
सरकारले श्रावण महिनाबाट लागू गरेको नियमावलीले उद्योग चलाउन नसक्ने अवस्था आएकाले सो सम्बन्धमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउने निर्णय गरिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले बताएका छन्।

शुक्रबार काठमाडौंमा सरकारले हालै लागू गरेको श्रम नियमावलीका विषयमाको छलफलमा भाग लिँदै महासंघका कार्यबहाक अध्यक्ष सिंहले यो नियमावलीले आफूहरुलाई मारमा पारेको पनि स्पष्ट पारे।

नियमावलीमा श्रमिकहरुको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ तोकिएको छ। महासंघका अध्यक्ष सिंहले सो पारिश्रमिक दिने अवस्था पनि नेपालका साना उद्योगहरुसँग नरहेको स्पष्ट पारे।

महासंघले कामदारहरुलाई सीपयुक्त तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
सरकारले हालै लागू गरेको श्रम नियमावलीमा विदेशी कामदारलाई काम गर्न दिन नपाउने व्यवस्था गरिएको छ। महासंघले सो व्यवस्था नियमावलीमा गरेकोमा पनि आपत्ति जनाएको छ।