काठमाडाैं । नेपाल उद्योग वणिज्य महासंघ (एफएनसिसिआई)काे वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। चैत २८ र २९ मा हुने महासंघकाे ५७औँ साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेवारी दिने घोषणा गरेका हुन्।
तिन बर्षका लागि कार्यकाल रहने महासंघमा हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुनेछन् । ढकालपछिको नेतृत्वको लागि श्रेष्ठले दाबी गरेका हुन्।
नयाँ कार्यसमितिको चुनावका लागि श्रेष्ठले आफ्नो टिम तयार पारिसकेका छन् । उनीसंगै बरिष्ठ उपाध्यक्षका आकांक्षीले भने अहिलेसम्म टिम तयार पारेका छैनन् ।
घोषणापत्रसहित पुनः पूर्ण टिम सार्वजनिक गर्ने श्रेष्ठकाे तयारी छ । साधारण सदस्यमार्फत महासंघमा आबद्ध भएका श्रेष्ठ १५ वर्ष कार्यसमिति र एक कार्यकाल पदाधिकारीसमेत भएर काम गरेकाे अनुभव छ । महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव समेत उनीसँग छ।
आफ्नाे टिम तयार भइसकेको, तर अहिल्यै सार्वजनिक नगर्ने उनले बताए । भन्छन्- ‘अझै पर्याप्त समय छ, राम्रो सशक्त टिम बनाएर घोषणा गर्छौँ ।’
उनको टिममा जिल्ला–नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान समेटिएका छन् ।
लक्ष्मी ग्रुपका निर्देशक तथा महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्। पाेखराका सफल व्यवासाहीका रूपमा उदाएका श्रेष्ठ पुस्ताैनी पेशामार्फत व्यवसायमा छिरेका हुन् ।
उनकाे उत्पादनमूलकतर्फ सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्। व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ, अटोमोटिभमार्फत इलेक्ट्रोनिक्सलगायतका छन् । अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनमा समेत श्रेष्ठको उल्लेख्य लगानी रहेको छ।
श्रेष्ठले मुलुकभित्र व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि परिवर्तनशील समयअनुकूल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेदवारी रहेकाे उल्लेख गरे।
उनले चीन र भारतको व्यापार जुन गतिमा विकास भएको छ, त्यो गतिमा नेपाल जान सकेन भने उत्पादकमूलकभन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए। अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संशक्त संगठन विस्तार गर्नु भएको उनको भनाइ छ। उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे।
FACEBOOK COMMENTS