काठमाडौं । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिए । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ ।
यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ । छ उजुरीमा भने थप कारबाही गर्नुपर्ने उल्लेख छ । उनले दुईवटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत कारबाही अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।
काउन्सिलले १४३ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटाएको छ । उनीहरूको प्रमाणपत्र नक्कली प्रमाणित भएका कारण नाम दर्ता सूचीबाट हटाइएको काउन्सिलले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS