काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन्।
शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए।
उनले बैठकमा संसदलाई बढीभन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताए। आइतबार बस्ने संसद्को बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत हुने उनले जानकारी दिए।
उनले भने, ‘व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधि सभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्ने कुरा भएको छ। बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो। राजनीतिक दलका विषयमा मतान्तर छैनन्। कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ।’
प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोही अनुसार गठबन्धन अघि बढ्ने बताए। उनले गठबन्धनको अर्को कुनै विकल्प नरहेको जिकिर गरे।
FACEBOOK COMMENTS