पाेखरा । देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएको सरोकारबालाहरुले जोड दिएका छन्। आईतवार पोखरामा आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा पूर्व गर्भनर डा चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको बताए। उनले यसको लागि नीतिगत सुधार गर्नुपर्ने बताए। ‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु सिरियस भएको जस्तो देखिँदैन्। अझै सरकार सुधार गर्न सचेत छैन्,‘ उनले भने।
उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए। पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए। व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे।
‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ। अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ उनले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन्। यो सत्य हो।‘
पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए। उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए।
उनले भने, ‘गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना छ। कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिएमा प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ।’
रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरता आवश्यक हुनेमा जोड दिए।
व्यापार व्यवसाय सुनसान, सामान्य खर्च धान्न समेत कठिन : उपाध्यक्ष श्रेष्ठ
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए।
उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए।
‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं। अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘ उनले भने।
उनले अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे।
यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरु चिन्तित भएको उनले स्पष्ट पारे।
‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने? ब्याजदर १०प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ,‘ उनले जोड दिए।
श्रेष्ठले उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।
उनले आगामी दिन युवाहरुकै भएको भन्दै उद्योगी व्यवसायीहरुलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए। श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सँधै अग्रसर रहने स्पष्ट पारेका थिए।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए।
व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए।
FACEBOOK COMMENTS